Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे


काठमाडौं । नेपालले भारतीय बजारमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले जुन महिनामा यति मूल्यमा नेपालमा उत्पादन भएको ६ जलविद्युत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरेको हो ।

जुनमा नेपालको १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार प्राधिकरणले यो अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्क कटाउँदा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यो महिनाभर प्रतिश्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ । प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ)मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ । त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत बिक्री भयाे । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत बिक्री गरिएको थियो ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

घिसिङले नेपालले गत वर्षबाट भारतीय प्रतिश्पर्धी बजारमा सुरु गरेको विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारीरूपमा अगाडि बढेको बताए । ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं ।’

उनले विद्युत बिक्रीबाट भएको आम्दानीले नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न तथा देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने बताए । उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताए ।

भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको पनि उनले बताए ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट आइएक्समा बिक्री गर्न सुरु गरेको हो । सुरुमा २ वटा जलविद्युत आयोजनाको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिकरूपमा ६ जलविद्युत आयोजनाको ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ । ‘मुख्य रुपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ । प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरी नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रुपमा चलाइएको छ । यसको नतिजा विस्तारै देखिन थाल्नेछ ’ उनले भने ।

कार्यकारी निर्देशक घिसिङले २ मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायको योगदान रहेको बताए । गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

भारतको केन्द्रीय विद्युत प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय (नोडल एजेन्जी) एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।


Read Previous

वर्षामा देशभरका सामरिक सडक सुचारु राख्न २१८ उपकरण परिचालन

Read Next

मापदण्ड पूरा नगरेको भन्दै प्राधिकरणद्वारा अन्तरदेशीय बजारमा विद्युत बिक्री गर्न आह्वान गरेको बोलपत्र रद्द

Leave a Reply

Your email address will not be published.