
काठमाडौं । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भट्टराईलाई सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो।
सीआईबीका अनुसार भट्टराईले सन् २०११ अर्थात् २०६८ सालमा तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेका थिए। सोही प्रकरणमा उनीविरुद्ध गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
पक्राउ परेका भट्टराईलाई सीआईबीले सोमबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार भट्टराईले २०६८ सालमा ट्राभल डकुमेन्ट जारी गरेको अनुसन्धानबाट खुलेको छ।
