
काठमाडौं। सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कार्कीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त भएका कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक थिए। उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए।
कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा काम गरेको अनुभव छ।
उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।
कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता तथा वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।
