
काठमाडौं। खाना पकाउने ग्यासमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको सूचनापछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएका थिए।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेका थिए।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। सोहीअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन थालिएको हो।
ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने मन्त्रालयले जनाएको छ।
सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने तयारीसमेत गरिएको छ।
भक्तपुरबाट एक जना पक्राउ
उद्योग मन्त्रालयले ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको जनाएको छ।
मन्त्रालयका अनुसार आइतबार भक्तपुरबाट एक जनालाई कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको छ।
मन्त्रालयले उपभोक्ताका गुनासा निरन्तर सुनिरहेको जनाउँदै ग्यास अभावको बहाना बनाएर कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउने जनाएको छ।
सरकारले ग्यास पर्याप्त मात्रामा आयात भइरहेको अवस्थामा समेत देखिएको कृत्रिम अभाव यथाशीघ्र सहज बनाउन व्यवसायी र उपभोक्तासहित सबै पक्षको सहयोग आवश्यक रहेको बताएको छ।
उद्योग मन्त्रालयले आफ्नो घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेको अवस्थामा अनावश्यक रूपमा लाइनमा नबस्न उपभोक्तालाई आग्रह गरेको छ। साथै, अहिलेको अवस्थामा प्रत्येक परिवारले एकपटकमा एक सिलिन्डर मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ।
सरकारले सबैको संयमता र जिम्मेवार व्यवहारबाट बजारमा देखिएको ग्यासको समस्या केही दिनमै सहज हुने अपेक्षा गरेको छ।

