
Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
काठमाडौं। लगातारको वर्षासँगै पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। मनसुन सक्रिय रहेकाले थप वर्षा तथा पहिरोको जोखिमसमेत कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५:४५ बजेसम्म तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो, वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात रोकिएको हो। चौतारा साँगाचोकगढी नगरपालिका-९ डुम्रेमा समेत अरनिको राजमार्ग अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-९ काडेस्थित पिङवाखोलानजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
केही स्थानमा भारी वर्षाको सम्भावना
यसैबीच, देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात र पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रहरीले पनि वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

