Nepal Purbadhar

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा, ग्यासको समेत अभाव


काठमाडौँ। मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। गत असार २३ गते इलाम नगरपालिका-९ स्थित सडकमा पहिरो खस्नुका साथै सडक भासिएपछि अवरुद्ध भएको सडक अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।

पहिरो पन्छाएपछि भासिएको सडक पुरेर ग्राभेल गर्ने र भित्तातर्फ अस्थायी ड्रेन निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।

उनका अनुसार वर्षाका कारण सडक क्षेत्रमा दलदल भएकाले काम गर्न कठिनाइ भइरहेको छ। तीन-चार दिन घाम लागेपछि भासिएको क्षेत्रमा माटो भरेर ग्राभेल गर्ने तयारी भए पनि काम सम्पन्न नहुँदै पानी पर्दा पुनः सडक भासिने समस्या देखिएको छ।

“पहिरो पन्छाएपछि भासिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ,” ढकालले भने, “तर वर्षाका कारण दलदलमा काम गर्न सकिँदैन। घाम लागेमा काम अघि बढाउने तयारी छ।”

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मी सडक खुलाउन निरन्तर खटिएका छन्। सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईका अनुसार सडक खुलाउन दिनरात प्रयास भइरहेको भए पनि सामान्य वर्षासमेत सडक पुनः भासिने समस्या मुख्य चुनौती बनेको छ।

सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क प्रभावित भएको छ। अहिले इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ जाने सवारीसाधन माइखोला वारिसम्म र झापाबाट ती जिल्लातर्फ आउने सवारीसाधन माइखोला पारिसम्म पुग्ने गरेका छन्।

माइखोला पारिबाट वारी पहिरोमाथिसम्म र वारी पहिरोमाथिबाट माइखोलापारिसम्म यात्रुले करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ।

बिरामी, अशक्त तथा ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीले स्टेचरमा बोकेर पहिरो प्रभावित क्षेत्र वारपार गराउँदै आएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बिरामी, अशक्त तथा ज्येष्ठ नागरिकलाई स्टेचरमा बोकेर आवतजावतमा सहयोग गरिरहेको छ।

प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा १० जना प्रहरी आलोपालो गरी २४ सै घण्टा पहिरो प्रभावित क्षेत्रमा खटिएका छन्। सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानदेखि बेलुकासम्म समन्वय तथा उद्धारमा सहयोग गरिरहेका छन्।

प्रहरीले सो क्षेत्रमा असार १७ गतेदेखि नै हेल्पडेस्क स्थापना गरी यात्रुलाई सहयोग गर्दै आएको छ।

वैकल्पिक सडक पनि भरपर्दो छैन

इलामबाट झापातर्फ जाने वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोरअन्तर्गत पुवाखोला तथा तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत जोगमाइ खोलामा पुल नहुँदा थप समस्या भएको छ।

घाम लागेको समयमा अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि वर्षा हुनासाथ बाढीले डाइभर्सन बगाउने गरेको प्रजिअ ढकालले बताए। उनका अनुसार अहिले इलामबाट झापा जाने भरपर्दो वैकल्पिक सडकसमेत छैन।

यसअघि गत असोज १८ गते वर्षासँगै आएको पहिरोका कारण यही सडक अवरुद्ध हुँदा १४ दिनपछि सञ्चालनमा आएको थियो। यसपटक भने सडक सबैभन्दा लामो समयदेखि अवरुद्ध भएको हो।

ढुवानी महँगिँदा उपभोग्य सामग्रीको मूल्य बढ्यो

सडक अवरुद्ध हुँदा निर्माण सामग्रीसँगै दैनिक उपभोग्य वस्तुको ढुवानी लागत बढेको छ। इलामस्थित उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलका अनुसार सामान्य अवस्थामा झापाबाट इलामसम्म प्रतिकिलो करिब २ रुपैयाँमा ढुवानी हुने सामान अहिले ५ देखि ६ रुपैयाँसम्म पर्ने गरेको छ।

ठूला सवारीसाधन मेची राजमार्गमा सञ्चालन हुन नसक्दा साना सवारीसाधनमार्फत सामग्री ल्याउनुपरेकाले ढुवानी खर्च बढेको उनले बताए।

खाना पकाउने ग्यासको समेत अभाव

सडक अवरुद्ध भएपछि पछिल्लो समय इलाममा खाना पकाउने ग्यासको अभावसमेत देखिन थालेको छ। यसअघि आधा सिलिन्डर ग्यास बिक्रीवितरण हुँदा केही सहज भए पनि अहिले पूरा सिलिन्डर आपूर्ति हुन थालेपछि बजारमा अभाव देखिएको स्थानीय प्रकाश नेपालले बताए।

उनका अनुसार घर भएका परिवारले वैकल्पिक रूपमा दाउरा वा अन्य माध्यमबाट खाना पकाउन सके पनि कोठा भाडामा बस्ने विद्यार्थी बढी प्रभावित भएका छन्।

“आफ्नै घर हुनेले जसोतसो आगो बालेर भए पनि खाना पकाएर खान सक्छन्। तर कोठा भाडामा बस्ने विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ,” उनले भने, “नियमित विद्युत् आपूर्तिमा समेत समस्या भइरहेकाले विद्युतीय चुलो चलाउन पनि सहज छैन।”


Read Previous

धमाधम पुनर्निर्माण हुँदै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भैँसेपाटी मन्त्री आवास, ४० करोड लागत

Read Next

काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द, कुन कुन स्थानमा छैन बिजुली?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar