Nepal Purbadhar

म्याग्दीको फापरखेत पहिरोको विकल्पमा ७ करोड ५० लाख लागतमा पक्की पुल निर्माण गर्ने तयारी


म्याग्दी। म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल निर्माण हुने भएको छ।

फापरखेतको पहिरो छल्न मङ्गला गाउँपालिका-३ पखेर र वडा नं. २ सिमलचौर जोड्ने गरी म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गर्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा रु. २ करोड बजेट विनियोजन गरेपछि प्रक्रिया अघि बढाएको हो।

यसअघि गत वर्ष संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउने तथा प्रदेश सरकारले त्यसलाई जडान र पहुँचमार्ग निर्माण गर्ने समझदारी भएको थियो। तर, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण उक्त योजना कार्यान्वयन हुन सकेन। प्रदेश सरकारले विनियोजन गरेको रु. १ करोड बजेटबाट समेत काम अघि बढ्न सकेन।

सवारीसाधनको अत्यधिक चाप हुने बेनी-दरवाङ सडकमा बेलिब्रिज निर्माण गर्दा जोखिम हुने प्राविधिक प्रतिवेदन आएपछि प्रदेश सरकारले रु. ७ करोड ५० लाख बजेटको स्रोत सुनिश्चित गरेको छ। ठेक्का आह्वान हुन बाँकी रहे पनि अहिले ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी शुरू गरिएको हो।

डिजाइन एण्ड बिल्ड विधिमा एउटै कम्पनी वा निर्माण व्यवसायीले पुलको डिजाइन, नक्सा तथा प्राविधिक विवरण तयार गर्नुका साथै निर्माणसमेत गर्ने व्यवस्था हुन्छ।

बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सीमामा पर्ने फापरखेतमा सडकमुनि म्याग्दी नदी र माथितिर ठूलो पहिरो छ। विसं २०६० अघिदेखि सञ्चालनमा आएको बेनी-दरवाङ सडकमा हरेक वर्षायाममा वर्षा हुनासाथ पहिरो खस्ने गरेको छ।

करिब २४ किलोमिटर लामो बेनी-दरवाङ सडकमा फापरखेत पहिरोका कारण यातायात सेवा अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय बताउँछन्। पछिल्लो दुई महिनामा मात्रै पहिरोका कारण साँघुरो सडकबाट दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएका छन्।


Read Previous

सात महिनामा सक्ने सम्झौता, दुई वर्ष पुग्दा पनि भएन कालोपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar