Nepal Purbadhar

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, पूरा होला?


काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको विद्यमान अवस्था, समस्या तथा आगामी कार्ययोजनाका विषयमा सिँचाइ विभागका महानिर्देशक, जलस्रोत महाशाखा प्रमुख, आयोजना प्रमुखलगायत सम्बन्धित कर्मचारीसँग छलफल गरेका छन् ।

छलफलमा राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनमा समय र परिणाम दुवैलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। मन्त्रालयअन्तर्गत रहेका सबै राष्ट्रिय गौरवका सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना अघि बढाउने लक्ष्य तय गरिएको छ।

त्यसैगरी भेरी–बबई बहुउद्देश्यीय, बबई र सिक्टा सिँचाइ आयोजना आगामी तीन सुख्खा मौसमभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

सिँचाइलाई केवल पूर्वाधार निर्माणको विषयका रूपमा नभई कृषि उत्पादन, औद्योगिक विकास र समग्र आर्थिक समृद्धिसँग जोडिएको राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा पनि छलफलमा जोड दिइएको छ।

सुख्खा याममा उपलब्ध पानीको न्यायोचित र प्रभावकारी बाँडफाँडका लागि स्काडालगायत आधुनिक प्रविधिको प्रयोग गर्ने, हिउँदे बालीको सिजनलाई लक्षित गरी विशेष सिँचाइ कार्ययोजना बनाउने तथा सिँचाइ आयोजनालाई कृषि र उद्योगसँग जोडेर एकीकृत कार्ययोजना तयार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, सबै आयोजनाको समय, लागत र उपलब्धिको नियमित समीक्षा गर्दै नतिजामुखी कार्यान्वयनमा जोड दिने निर्णय गरिएको छ। आयोजनाको काम लामो समयसम्म अल्झिने प्रवृत्तिलाई अन्त्य गर्दै तोकिएको समयसीमा र अपेक्षित परिणाम हासिल हुने गरी कार्यान्वयनलाई तीव्रता दिने लक्ष्य राखिएको छ।

सिँचाइ पूर्वाधारको प्रभावकारी उपयोगमार्फत कृषि उत्पादन वृद्धि, औद्योगिक गतिविधि विस्तार र अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ आगामी कार्ययोजना अघि बढाइने बताइएको छ।


Read Previous

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

Read Next

मार्तडी-कोल्टी २६ किलोमिटर कालोपत्रेको काम अधुरै, कालोपत्र हुनुपर्ने सडक २७ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar