
पोखरा। पोखराको पृथ्वीचोक बसपार्क र पोखरा रंगशालाको गेट जोड्ने गरी सेती नदीमाथि निर्माणाधीन अत्याधुनिक केबल-स्टेड सिग्नेचर पुलको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ ।
पोखरा-मुग्लिन सडक आयोजना अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको उक्त पुलको लागत भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सनले पाएको हो ।

योजना सम्पन्न भएपछि हाल सञ्चालनमा रहेको पुलको दायाँ र बायाँतर्फ १९०-१९० मिटर लम्बाइका २ ओटा नयाँ पुल निर्माण हुनेछन् । दुवै पुल दुई-दुई लेनका हुनेछन् । यसले पोखराको सडक पूर्वाधार तथा सवारी आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुल निर्माणको काम २०८३ फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ । सरकारले २०७९ भदौमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । तर, डिजाइन स्वीकृति र निर्माणस्थल खाली गराउने काममा ढिलाइ हुँदा २०८० कात्तिकदेखि मात्रै निर्माण सुरु भएको थियो ।

निर्माणाधीन सिग्नेचर पुल पोखराको महत्वपूर्ण पूर्वाधार आयोजनामध्ये एक हो । निर्माण सम्पन्न भएपछि पृथ्वीचोक बसपार्क र पोखरा रंगशाला क्षेत्रबीचको सडक सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

