Nepal Purbadhar

वर्षौंदेखि सताइरहेको गगने खोला, करोडौँ खर्चिए पनि रोकिएन पहिरो जाने समस्या


कालिकोट। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगने खोला क्षेत्र वर्षौँदेखि पहिरोको जोखिममा छ । सामान्य वर्षामै लेदोसहितको पहिरो खस्ने गरेका कारण सुर्खेत-जुम्ला सडकखण्डमा आवागमन प्रभावित हुँदै आएको छ ।

सुर्खेतदेखि जुम्लासम्म सडकको ट्रयाक जोडिएको दुई दशक पुगिसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज हुन सकेको छैन । साँघुरो र भिरालो सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामाथि गगने खोलाको पहिरोले थप समस्या सिर्जना गर्दै आएको छ ।

पहिरो नियन्त्रणका लागि सडक डिभिजन जुम्लाले दुई वर्षअघि करिब ३ करोड रुपैयाँ खर्च गरेर ग्याबिन जाली लगाएको थियो । तर, पहिरोको दबाब थेग्न नसक्दा ग्याबिन जालीसमेत बगाएको छ । पानीको निकास व्यवस्थापनलगायतका उपाय अपनाइए पनि समस्या समाधान हुन सकेको छैन ।

वर्षा सुरू हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम वर्षौंदेखि दोहोरिँदै आएको छ । पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्म परेको वर्षाका कारण गगने खोलामा तीन दिनसम्म पहिरो खसेर आवागमन ठप्प भएको थियो ।

‘बालेन सरकार, हाम्रो पीडा बुझिदिनुपर्‍यो’

गगने खोलाको पहिरोबाट शुभकालिका गाउँपालिका पनि आजित भएको छ । पानी पर्नासाथ जनप्रतिनिधि र सुरक्षाकर्मी पहिरो क्षेत्रमा खटिनुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए ।

स्थानीय तहको आर्थिक क्षमताले मात्रै समस्या समाधान गर्न नसकिने भन्दै उनले संघ र प्रदेश सरकारसँग पटकपटक ध्यानाकर्षण गराए पनि स्थायी समाधान हुन नसकेको बताए ।

‘बिरामीको उपचार डाक्टरले गर्छ । क्रिटिकल पोइन्टमा अर्थ र भौतिक मन्त्रालयले यति बजेट भए यो समस्या समाधान हुन्छ भनेर त्यो एकैपटक छुट्याउनुपर्‍यो,’ उनले भने, ‘म संघ सरकार (बालेन सरकार)लाई भन्न चाहन्छु – हाम्रो पीडा बुझिदिनुपर्‍यो । हामी एक्लैले सक्दैनौँ ।’

पहिरोका कारण कर्णालीका उत्पादन तथा पर्यटकीय गतिविधिसमेत प्रभावित हुने गरेको उनले बताए । करोडौँ रुपैयाँ मूल्यको स्याउ तथा जडीबुटी बोकेका सवारीसाधन सडक अवरुद्ध हुँदा कैयौँ दिनसम्म बाटोमै रोकिने गरेको उनको भनाइ छ ।

‘करोडौँको स्याउ, जडीबुटी त्यहीँ सड्छ । स्याउका गाडी ५/७ दिनसम्म त्यहीँ रहन्छ भने के हुन्छ ? अर्गानिक स्याउ कुहिएर जान्छ । उपभोग गर्नेलाई असर पर्छ,’ उनले भने ।

गगने खोलामाथिको पहिरो प्रभावित क्षेत्रमा १९ घरपरिवार विस्थापित भइसकेको अध्यक्ष आचार्यले बताए । उनका अनुसार शुभकालिका-१ लाई विपद्ग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

दुई दशकअघि नै स्थान परिवर्तनको प्रस्ताव

सुर्खेत र जुम्लालाई जोड्ने गरी २०४९/५० सालतिर कर्णाली राजमार्गको ट्रयाक निर्माण सुरू गरिएको थियो । कडा चट्टानी पहाड फोर्दै २०६३ सालको अन्त्यतिर जुम्लासम्म ट्रयाक जोडिएको थियो ।

राजमार्ग निर्माणकै क्रममा गगने खोला क्षेत्रको जोखिम पहिचान गरी सडकको रेखांकन परिवर्तन गर्न प्रस्ताव गरिएको अध्यक्ष आचार्यले बताए । तर, रेखांकन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले स्थान परिवर्तन गर्न कठिन हुने जवाफ आएको उनले बताए ।

‘कर्णाली राजमार्ग बनेपछि नै प्राविधिक हिसाबले लोकेसन नै परिवर्तन गर्नुपर्छ भनेर पहिल्यै प्रस्ताव राखेका हौँ । रेखांकन र डीपीआर भइसकेकोले परिवर्तन गर्न गाह्रो हुन्छ भन्ने कुरा आयो । त्यो भएपछि त्यसलाई नै निरन्तरता दिन लाग्यौँ,’ उनले भने ।

उनले गगने खोलाको पहिरोको स्थायी समाधानका लागि सडकको वैकल्पिक रेखांकन गरेर जोखिमयुक्त क्षेत्रलाई छलेर राजमार्ग अघि बढाउनुपर्ने बताए ।


Read Previous

भोटेकोशी बाढीपीडितका लागि बेलायती गोर्खा नेपाली र रिब्डीकोट बुद्ध विहारको सहयोग

Read Next

कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुदै, प्रदेश र क्लस्टर अनुसार मतदान स्थल फरक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar