
काठमाडौं । नेपाल विद्युत प्राधिकरण ले निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीहरूलाई आयोजनाको व्यावसायिक उत्पादन सुरु मिति (आरसीओडी) थपका लागि सात दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्राधिकरणको व्यवसाय विकास निर्देशनालय अन्तर्गत विद्युत् व्यापार विभागले सूचना जारी गर्दै विद्युत् खरिद–बिक्री सम्झौता तथा ग्रिड जडान सम्झौताअनुसार निर्माण कार्य समयमै सम्पन्न हुन नसकेका आयोजनाहरूलाई आरसीओडी संशोधन प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो।
सूचनाअनुसार, प्राधिकरण सञ्चालक समितिको २०७७ भदौ ३१ गते बसेको ६६५औँ बैठकले प्रसारण लाइन तथा सबस्टेशन निर्माण पूरा नभएका कारण समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका आयोजनाहरूको आरसीओडी संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
यस निर्णयका आधारमा आरसीओडीसम्म पनि निर्माण कार्य पूरा नभएका, तर तोकिएका सर्त पूरा गरेका प्रवर्द्धकहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र विभागमा सम्पर्क गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तोकेका सर्तअनुसार आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको, वित्तीय व्यवस्थापन सम्पन्न भएको, आरसीओडी समाप्त हुनुअघि संशोधनका लागि निवेदन दिइसकेको तथा भौतिक निर्माण कार्यमा पर्याप्त प्रगति हासिल गरेको हुनुपर्नेछ।
