
नुवाकोट। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन गर्दै कानुनी विवादमा परेका बालबालिकासँग प्रत्यक्ष संवाद गरेकी छन्। उनले बाल सुधार गृहको सेवा, पूर्वाधार र पुनर्स्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिएकी छन्।
अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहबारे जानकारी लिएकी थिइन्। उनले कर्मचारी, पदाधिकारी र बालबालिकासँग छुट्टाछुट्टै छलफलसमेत गरिन्।
बालबालिकासँगको संवादमा गृहका पदाधिकारी र अन्य टोलीका सदस्यलाई बाहिर राखेर उनीहरूको धारणा सुन्ने व्यवस्था गरिएको थियो। संवादका क्रममा बालबालिकाले प्रदेशगत आधारमा व्यवस्थापनको व्यवस्था गर्न, सूचना प्रविधि, कम्प्युटर शिक्षा तथा विभिन्न सीपमूलक तालिममा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
उनीहरूले नियमित मनोसामाजिक परामर्शलाई प्रभावकारी बनाउन, पारिवारिक भेटघाटलाई सहज र व्यवस्थित बनाउन तथा पुनर्स्थापनामुखी कार्यक्रमलाई थप सुदृढ बनाउन पनि आग्रह गरेका थिए। साथै, समयानुकूल कानुनी व्यवस्था संशोधन गर्नुपर्ने आवश्यकता रहेको धारणा पनि मन्त्रीसमक्ष राखेका थिए।
अनुगमनपछि मन्त्री बादीले बाल सुधार गृहमा देखिएका आवश्यकता र चुनौतीको समीक्षा गर्दै सुधार गृहसम्म पुग्ने सडक स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा अन्य आवश्यक पूर्वाधार सुदृढीकरणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।
उनले बालबालिकाको सर्वोत्तम हित, अधिकार संरक्षण र प्रभावकारी पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै बाल सुधार गृहलाई थप सुरक्षित, बालमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय आवश्यक समन्वय र पहल गर्न प्रतिबद्ध रहेको बताइन्।
मन्त्री बादीले प्रत्येक बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा, संरक्षण र विकासको अवसर प्राप्त गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि राज्यका सबै निकायले समन्वय र उत्तरदायित्वका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।
