
जनकपुरधाम। जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास रेलमार्गअन्तर्गत बिजलपुरा–बर्दिबास खण्डको निर्माण कार्यले गति लिएको छ। नेपाल रेल्वे कम्पनीले आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको जनाएको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार मुआब्जा विवाद टुङ्गिएपछि निर्माण कम्पनी इरकन इन्टरनेसनलले धनुषा र महोत्तरी जिल्लामा रेल ट्र्याक निर्माणलाई तीव्र बनाएको छ।
निर्माणाधीन जयनगर–बर्दिबास रेलमार्गको कुल लम्बाइ ७० किलोमिटर रहेको छ। यसमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। अब बाँकी खण्डको निर्माण सम्पन्न भएपछि रेल सेवा बर्दिबाससम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा परेको रेल्वेको जग्गाको खोजी तथा संरक्षण अभियान पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेल्वेको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा पहिचान गरी संरक्षणको प्रक्रिया अघि बढाइएको महाप्रबन्धक पराजुलीले बताए।
जयनगर–बर्दिबास रेलमार्ग नेपाल–भारत सहकार्यअन्तर्गत निर्माण भइरहेको महत्वपूर्ण सीमापार ब्रोडगेज रेल परियोजना हो। आयोजना सम्पन्न भएपछि नेपाल र भारतबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधि थप सहज हुने तथा नेपालको रेल पूर्वाधार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
