
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनअन्तर्गत खुला समूहबाट केन्द्रीय सदस्य पदमा प्रकृति ढकालले उम्मेदवारी घोषणा गरेकी छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान तथा युवा नेतृत्व विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय ढकालले पार्टीको नीतिगत र संगठनात्मक सुदृढीकरणमा योगदान पुर्याउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन्।
को हुन ढकाल?
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वकीय उपसचिवका रूपमा कार्यरत ढकालले सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छन्। उनले बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई) बाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।
ढकालले सार्वजनिक स्वास्थ्य, सामाजिक विकास र युवा सशक्तीकरणका क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेकी छन्। उनले ‘युनाइटेड फर इम्प्याक्ट’ नामक गैरनाफामूलक संस्थाको संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशकका रूपमा काम गर्दै महिला, युवा र सीमान्तकृत समुदायको क्षमता विकास, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरेकी थिइन्।
उनको नेतृत्वमा उक्त संस्थाले नेपालका विभिन्न जिल्लासहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान र इजिप्टमा सार्वजनिक स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। उनले स्वास्थ्य सेवामा पहुँच विस्तार, महिला नेतृत्व विकास र युवाको स्वास्थ्य सचेतना अभिवृद्धिका क्षेत्रमा पनि काम गरेकी छन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि ढकाल विभिन्न कार्यक्रमसँग आबद्ध रहँदै आएकी छन्। अमेरिकी विदेश मन्त्रालयको सहयोगमा सञ्चालित ‘सीईई यौन तथा प्रजनन स्वास्थ्य अधिकार नवप्रवर्तन केन्द्र’को संस्थापकका रूपमा उनले दक्षिण तथा मध्य एसियाका विभिन्न मुलुकमा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्यक्रमको नेतृत्व गरेकी थिइन्।
सार्वजनिक नीति र संसदीय अभ्याससँग जोडिँदै उनले पोखरा रिसर्च सेन्टरमा कार्यक्रम अधिकृतका रूपमा काम गर्दा गण्डकी र कर्णाली प्रदेशका युवा तथा सांसदलाई लक्षित संसदीय सहयोग कार्यक्रम सञ्चालन गरेकी थिइन्। सामाजिक सुरक्षा, श्रम बजार, युवाको रोजगारी र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विभिन्न अनुसन्धान तथा विश्लेषणमा पनि उनको संलग्नता रहेको छ।
रास्वपासँग उनको सम्बन्ध पार्टी स्थापनाकालदेखि नै रहेको बताइएको छ। पार्टीका विभिन्न अभियान, नीति बहस, अवधारणापत्र तथा कार्यक्रम निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आएकी उनले गत संघीय निर्वाचनमा पार्टीको घोषणापत्र लेखन कार्यमा समेत योगदान पुर्याएकी थिइन्। निर्वाचनका क्रममा अभियान व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै स्वयंसेवक परिचालन, रणनीतिक समन्वय र मतदाता सम्पर्क विस्तारमा भूमिका खेलेकी थिइन्।
शैक्षिक रूपमा उनले एलएसईबाट विश्व स्वास्थ्य नीतिमा स्नातकोत्तर, वेस्टक्लिफ विश्वविद्यालय तथा किङ्स कलेजबाट गैरनाफामूलक व्यवस्थापन विषयमा स्नातकोत्तर र गण्डकी मेडिकल कलेजबाट मेडिकल इमेजिङ प्रविधिमा स्नातक अध्ययन पूरा गरेकी छन्।
ढकालले आफूलाई संगठनात्मक भूमिकासँगै नीति, अनुसन्धान, सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका मुद्दामा काम गर्ने युवा नेतृत्वका रूपमा स्थापित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन्। रास्वपाभित्र नयाँ पुस्ताको नेतृत्व विकास, नीतिगत बहसको विस्तार र सुशासनको एजेन्डालाई थप सशक्त बनाउन उनको उम्मेदवारीले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
