
विराटनगर। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स नेपाल (एससिएईएफ नेपाल) ले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (सिबीडीआईसी) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) सँगको सहकार्यमा ‘सहरी सडक योजना तथा व्यवस्थापन’ विषयक चारदिने तालिम कार्यक्रम विराटनगरमा शुरू गरेको छ।
नेपालको परामर्श, निर्माण क्षेत्र तथा सरकारी निकायसँग सम्बन्धित सरोकारवालाको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम विराटनगरस्थित होटल स्वागतममा शुरू भएको हो।
तालिमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए। कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाही, नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष इन्जिनियर जगरनाथ शाह, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा. डा. धर्मेन्द्र सिंह तथा नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीलगायतको उपस्थिति रहेको थियो।
इन्जिनियर मन्दाकिनी कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रा. डा. शाहीले प्रमुख स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए। कार्यक्रमको समन्वय इन्जिनियर आशय ओझा, इन्जिनियर हरि पौडेल र इन्जिनियर विवेक सिंहले गरेका छन्।
तालिममा प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, विभिन्न नगरपालिकाका प्रतिनिधि, इन्जिनियरिङ अध्ययन संस्थान तथा अन्य शैक्षिक संस्थाका प्राध्यापक, इन्जिनियरिङ परामर्शदाता, निर्माण व्यवसायी तथा व्यावसायिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ।
आयोजकका अनुसार असार ७ देखि १० गतेसम्म सञ्चालन हुने तालिमको मुख्य उद्देश्य सुरक्षित, दिगो र प्रभावकारी सहरी सडक प्रणालीको योजना, डिजाइन तथा व्यवस्थापनसम्बन्धी ज्ञान र प्राविधिक क्षमता अभिवृद्धि गर्नु हो।
कार्यक्रम पेशागत विकास तथा क्षमता निर्माण उपसमिति र एससिएईएफ नेपालद्वारा सिबीडीआईसी तथा एफक्यानको सहकार्यमा सञ्चालन गरिएको हो। आयोजकले यस्ता क्षमता विकासमूलक कार्यक्रमले परामर्श, निर्माण तथा सरकारी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
