
काठमाडौं। यस वर्षको मनसुन प्रणाली देशका अधिकांश भूभागमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ।
महाशाखाले सार्वजनिक गरेको ‘मनसुन आगमन बुलेटिन–२’ अनुसार नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा छ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो। त्यसपछि मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै असार ८ गतेसम्म थप क्षेत्रमा फैलिएको हो।
हाल मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा यसको विस्तार हुन अझै केही दिन लाग्न सक्ने महाशाखाले जनाएको छ। मनसुनको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार अद्यावधिक सूचना जारी गरिने पनि विभागले जनाएको छ।
मनसुन विस्तार भइरहेका बेला सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ।
विभागका अनुसार देशका विभिन्न पहाडी तथा हिमाली जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौँ उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ। उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
यता धनगढीमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान छ। वीरगञ्ज, भैरहवा र घोराहीमा पनि चर्को घाम र गर्मी रहने जनाइएको छ।
विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक कामबाहेक दिउँसो लामो समय घाममा नबस्न, प्रशस्त पानी पिउन तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै आगामी दिनमा जारी हुने मौसम बुलेटिन तथा विशेष मौसम सूचनालाई नियमित रूपमा अनुसरण गर्न पनि अनुरोध गरेको छ।
