Nepal Purbadhar

दामोदरकुण्ड पदमार्गमा सञ्चार अभावले तीर्थयात्रीलाई समस्या, पूर्वाधार विस्तार गर्न माग


मुस्ताङ। मुस्ताङको लोघेकर क्षेत्रमा पर्ने पवित्र तीर्थस्थल दामोदरकुण्ड पदमार्गमा सञ्चार सेवाको अभावले तीर्थयात्री तथा पदयात्रीलाई कठिनाइ भएको छ।

यारासम्म केही स्थानमा सञ्चारको पहुँच भए पनि घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको करिब १६.५ किलोमिटर लामो पदमार्गमा सञ्चार सेवा नहुँदा आपतकालीन अवस्थामासमेत सम्पर्क गर्न कठिन हुने गरेको छ। लेक लाग्ने जोखिम उच्च रहने यस क्षेत्रमा सञ्चार अभावले थप चुनौती सिर्जना गरेको सरोकारवालाले बताएका छन्।

हालै नेपाल यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा पदयात्रा गरेका पर्यटन तथा यातायात व्यवसायीहरूले पदमार्गमा सञ्चार सुविधा विस्तार आवश्यक रहेको बताएका छन्। नेपाल यातायात व्यवसायी सङ्घका अध्यक्ष रविप्रसाद आचार्यले सञ्चार सुविधा भए यात्रुलाई ठूलो सहयोग पुग्ने बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले घिमे डाँडामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएमा पदमार्गमा सञ्चार पहुँच सहज हुने बताए। उनका अनुसार घिमे डाँडादेखि भार्सा डाँडासम्मको उचाइयुक्त क्षेत्रमा लेक लाग्ने जोखिम पनि उच्च छ।

दामोदरकुण्ड समुन्द्री सतहदेखि करिब ५ हजार मिटर उचाइमा अवस्थित छ। यारा गाउँ हुँदै घिमे ठाँटीसम्म केही सहज पहुँच भए पनि त्यसपछिको यात्रा अत्यन्त चुनौतीपूर्ण मानिन्छ। अधिकांश तीर्थयात्री घिमे ठाँटीको धर्मशालामा बास बसेर अर्को दिन दामोदरकुण्ड प्रस्थान गर्ने गर्छन्।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार यारा गाउँबाट दामोदरकुण्ड पुग्न घोडामा करिब सात घण्टाभन्दा बढी समय लाग्छ र मौसमअनुसार मात्र यात्रा सम्भव हुन्छ। यहाँ हिउँदमा अत्यधिक चिसो हुने भएकाले जेठदेखि साउनसम्म मात्र यात्रा उपयुक्त मानिन्छ।

यसैबीच, पदमार्गको भार्सा खोलामा झोलुङ्गे पुल निर्माण हुने भएपछि दामोदरकुण्ड यात्राको अवधि करिब नौ घण्टाबाट घटेर छ घण्टामा सीमित हुने भएको छ। संघीय सरकारले घिमे डाँडादेखि भार्सा डाँडा जोड्ने ४७० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रु १८ करोड ५३ लाखको बहुवर्षीय बजेट सुनिश्चित गरेको छ।

सङ्घीय सस्पेन्स ब्रिज डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा रु तीन करोड र आगामी वर्षमा थप रु तीन करोड विनियोजन गरिएको छ। पुल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ।


Read Previous

जडीबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत कार्य तीव्र- तस्बीरमा हेर्नुहोस्

Read Next

शिवपुरीका ट्रेलमा ट्रायम्फ राइडरहरूको साहसिक यात्रा, ‘एपेक्स राइड’ सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar