
सांकेतिक तस्बीर।
डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जगदुल्ला गाउँपालिका-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप दिउँसो अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका-८ का ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिए।
जिपमा चालकसहित १२ जना सवार रहेकामा अन्य ११ जना घाइते भएका छन्। घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका-७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं. ३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका-६ का २८ वर्षीया लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धीरेन्द्र बूढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका-३ का ४४ वर्षीय भीमप्रसाद बुढा, जुम्लाको सिञ्जा गाउँपालिका-३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका-४ का ६४ वर्षीय नित्यानन्द अधिकारी तथा चालक चन्दननाथ नगरपालिका-८ का अन्दाजी ३५ वर्षीय विन्दास रावल रहेका छन्।
घाइते सबैको उद्धार गरी चन्दननाथ नगरपालिकाको एम्बुलेन्स र अर्को सवारीसाधनमार्फत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
