
गण्डकी। पोखरा अन्तरराष्ट्रिय विमानस्थलले पहिलो नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडान पाउने भएको छ। फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा-दुबई सिधा उडान सेवा शुरू गर्ने भएको हो।
विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसँगको सिधा हवाई सम्पर्कले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ। सन् २०२३ जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल हालसम्म आन्तरिक उडानमै सीमित रहेको थियो।
यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा-ल्हासा नियमित उडान शुरू गरे पनि यात्रु सङ्ख्या न्यून भएपछि सेवा हाल स्थगन गरिएको छ। यससँगै पोखरा-दुबई उडान विमानस्थलबाट हुने दोस्रो व्यावसायिक अन्तरराष्ट्रिय उडान हुनेछ। यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान मात्र हुँदै आएका थिए।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले फ्लाइ दुबईले उडान तालिका स्वीकृत भएसँगै टिकट बुकिङ समेत खुला गरिसकेको बताए। उनका अनुसार यो उडानले पोखराको अन्तरराष्ट्रिय हवाई पहुँच विस्तारमा महत्वपूर्ण उपलब्धि दिलाउनेछ।
उनले पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायतका गन्तव्यमा यात्रा गर्न सहज हुने र यात्रा समय तथा खर्च दुवै घट्ने बताए। साथै विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने भएकाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुबईमार्फत विश्वका विभिन्न सहरसँग जोडिने भएकाले पोखराको अन्तरराष्ट्रिय पहुँच विस्तार हुने बताए। फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको कोडसेयर साझेदारीमार्फत एउटै टिकटमा सहज यात्रा सम्भव हुने उनले बताए।
इमिरेट्स एयरलाइन्सले दुबईलाई ६ महादेशका ७६ देश र १४३ भन्दा बढी गन्तव्यसँग जोड्दै आएको छ। यससँगै पोखरा-दुबई उडानले मध्यपूर्व, युरोप, अफ्रिका तथा अमेरिका क्षेत्रका ३०० भन्दा बढी सहरसँग अप्रत्यक्ष पहुँच दिलाउने जनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई उडान अनुमति दिएको थियो। अनुमति दिनुअघि कम्पनीले विमानस्थलको सुरक्षा, सञ्चालन र सेफ्टीसम्बन्धी निरीक्षण समेत गरेको थियो।
उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष नरेश कँडेलले यो उडानले गण्डकी प्रदेशको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व जाने यात्रुहरूलाई पनि यसले सहजता दिने अपेक्षा गरिएको छ।
झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको अवस्थामा यो उडानलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पर्यटन व्यवसायीहरूले नियमित अन्तरराष्ट्रिय उडान विस्तारलाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

