Nepal Purbadhar

शिवपुरीका ट्रेलमा ट्रायम्फ राइडरहरूको साहसिक यात्रा, ‘एपेक्स राइड’ सम्पन्न


काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले शिवपुरी क्षेत्रका रमणीय ट्रेलहरूमा आयोजना गरेको ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ सफलतापूर्वक सम्पन्न गरेको छ।

विश्व मोटरसाइकल दिवसको अवसर पारेर असार ७ गते आयोजित उक्त एकदिने साहसिक राइडमा ट्रायम्फ मोटरसाइकलका राइडरहरू सहभागी भएका थिए। शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका ट्रेल मार्ग हुँदै सञ्चालन गरिएको राइडले सहभागीलाई काठमाडौंको व्यस्त जीवनबाट केही समय टाढा रही प्रकृतिसँग रमाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

राइड बुद्धनीलकण्ठ, डाँडागाउँ, सांग्ला, लिखुखोला र समुद्रदेवी हुँदै अघि बढेको थियो। यात्राका क्रममा सहभागीहरूले घुमाउरा सडक, रोमाञ्चक ट्रेल, नदी किनारका मार्ग तथा प्राकृतिक वातावरणबीच मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

ट्रायम्फ नेपालका अनुसार कार्यक्रमले केवल राइडिङ अनुभव मात्र नभई नेपालमा विस्तार हुँदै गएको ट्रायम्फ राइडर समुदायबीच आपसी सम्बन्ध र सहकार्यलाई पनि थप मजबुत बनाएको छ।

राइड सम्पन्न भएपछि सहभागीहरू नक्सालस्थित बाइकर्स क्याफेमा आयोजित विशेष साँझ कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा वैशाख १२ देखि १८ गतेसम्म सम्पन्न ‘ट्रायम्फ नेपाल एपिक राइड–मनाङ एडिसन’ को भिडियो प्रिमियर समेत गरिएको थियो। उक्त प्रस्तुतिले सहभागीहरूलाई ट्रायम्फ नेपालको चर्चित साहसिक यात्रामध्ये एकलाई पुनः स्मरण गर्ने अवसर दिएको कम्पनीको भनाइ छ।

कार्यक्रममा भोजन, अनुभव आदान–प्रदान तथा यात्राका कथाहरू साझा गर्ने गतिविधि समेत आयोजना गरिएको थियो। यसले कार्यक्रमलाई केवल मोटरसाइकल राइडमा सीमित नराखी समुदाय निर्माण र साहसिक संस्कृतिको उत्सवका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले राइडलाई मोटरसाइकलभन्दा पनि समुदायको उत्सवका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार ‘एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी’ ले राइडरहरूलाई एकै स्थानमा भेला भएर नयाँ अनुभव साटासाट गर्ने, ट्रेल राइडको रोमाञ्च महसुस गर्ने तथा आपसी सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ।

“हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको राइडरहरू आफ्नो मोटरसाइकलसँग मात्र नभई यात्रा, प्रकृति र एक–अर्कासँग पनि जोडिएको देख्नु हो,” थापाले भने।


Read Previous

दामोदरकुण्ड पदमार्गमा सञ्चार अभावले तीर्थयात्रीलाई समस्या, पूर्वाधार विस्तार गर्न माग

Read Next

ई–पासपोर्ट खरिद प्रकरण : १० अर्बभन्दा बढी बिगो दाबीसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar