Nepal Purbadhar

सावाखोलामा पक्की पुल, खोटाङ-पाप्माखाम सडक वर्षभरि सञ्चालन हुने


खोटाङ। खोटाङको सावाखोलामा मोटरकारसहित सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएसँगै खोटाङ-पाप्माखाम भञ्ज्याङ सडकमा वर्षभरि यातायात सञ्चालन सहज हुने भएको छ।

सङ्घीय सरकारको समपूरक अनुदानमा रु ३ करोड ७ लाख ७३ हजार ५९८ को लागतमा निर्माण गरिएको २०.९० मिटर लामो पुल शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

पुल निर्माणपछि वर्षायाममा सावाखोला तर्नुपर्ने बाध्यता हटेको छ भने स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज भएको छ।

यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर लामो खोटाङबजार-पाप्माखाम भञ्ज्याङ सडकको स्तरोन्नतिको काम पनि तीव्र रूपमा अघि बढिरहेको छ। कोशी प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु २ करोड बजेट विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

स्थानीयवासीका अनुसार पुल र सडक स्तरोन्नतिसँगै यस क्षेत्रको यातायात पहुँचमा सुधार हुनुका साथै स्थानीय कृषि उत्पादनको बजारीकरण र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

बर्दिबाससम्म रेल पुर्‍याउने बाटो खुल्यो, मुआब्जा विवाद टुङ्गिएपछि निर्माण तीव्र

Read Next

मध्यपूर्व युद्ध: ऊर्जा बजारमा नयाँ समीकरण, ओपेकले उत्पादन बढाउँदा भारत तेल अन्वेषमा, अफगानको अटो व्यापार संकटमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar