Nepal Purbadhar

नैतिकताको आधारमा गृह मन्त्री सुदन गुरुङको राजीनामा, निष्पक्ष छानबिनको माग



काठमाडौं । गृह मन्त्री सुदन गुरुङले आफ्नो शेयर सम्बन्धी विषयमा नागरिक स्तरबाट उठेका प्रश्न, टिप्पणी तथा जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आजदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
बुधबार जारी वक्तव्यमा गुरुङले आफूले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूबारे निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले बताएका छन्।


“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” वक्तव्यमा उनले भनेका छन्। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलन ले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उनले उल्लेख गरेका छन्।


गुरुङले सरकार ४६ जना “भाइबहिनीहरूको रगत र बलिदानी” को आडमा बनेको भन्दै त्यसमाथि उठ्ने प्रश्नको जवाफ नैतिकतामार्फत दिनुपर्ने बताएका छन्। त्यसैले आफूले नैतिक जिम्मेवारी वहन गर्दै पद त्याग गरेको उनको भनाइ छ।


उनले सञ्चारकर्मी, आम नेपाली नागरिक र युवाहरूलाई सम्बोधन गर्दै परिवर्तनका लागि सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने अपिल गरेका छन्। साथै, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,” भन्दै सार्वजनिक जीवनमा उत्तरदायित्व र पारदर्शिताको आवश्यकता औँल्याएका छन्।


Read Previous

आरसीओडी म्याद थपका लागि ७ दिनभित्र सम्पर्क गर्न विद्युत् प्रवर्द्धकलाई प्राधिकरणको सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar