दमक । झापा इनर्जी प्रालिले लगानी गरी निर्माण गरेकाे साैर्य विद्युत आयाेजनाबाट उत्पादन भएकाे १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । निजी लगानीमा शिवसताक्षी नगरपालिका-४ मा निर्माण भएकाे साैर्य विद्युत आयाेजनाले उत्पादन गरेकाे विद्युत नेपाल विद्युत प्राधिकरणकाे बुलुचाेक सबस्टेसन मार्फत प्रसारण प्रणालीमा जाेडिएकाे हाे ।
अहिले याे साैर्य विद्युत आयाेजनाले परीक्षण उत्पादन गरिरहेकाे प्राधिकरणकाे दमक वितरण केन्द्र प्रमुख परितोषकुमार चौधरीले बताए । “झापा इनर्जीले प्रवर्द्धन गरेकाे याे आयाेजनाले अहिले परीक्षण उत्पादन गरिरहेकाे छ,” उनले भने, “ परीक्षणकाे चरण पूरा भएपछि प्राधिकरणले उत्पादन भएकाे विद्युत खरिद गर्न थाल्नेछ।”
झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले अबकाे २ सातासम्म परीक्षणकाे अवधि रहने र याे अवधिमा प्राधिकरणकाे प्रणालीमा निशुल्क विद्युत दिने बताए ।
पूर्वपश्चिम राजमार्गस्थित दुधे बजारबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा याे साैर्य विद्युत आयाेजना निर्माण गरिएकाे छ । याे नै झापामा निर्माण भएकाे सबैभन्दा ठूलाे साैर्य विद्युत आयाेजना हाे ।
सांसद एलपी साँवाको समेत लगानी रहेकाे याे साैर्य विद्युत आयाेजना ८१ कराेड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएकाे प्रवर्द्धक कम्पनीले जनाएकाे छ । याे साैर्य विद्युत आयाेजनामा माछापुच्छ्रे र सिभिल बैंकले कूल लगानीकाे ७५ प्रतिशत ऋण लगानी गरेका छन् ।
आयाेजना स्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेसन एक किलोमिटरको दूरीमा छ । सबस्टेसनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले ९६० मिटर लामाे प्रसारण लाइन निर्माण गरेको छ ।
साैर्य विद्युत आयाेजना निर्माण गर्न झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको थियो । पिपिए अनुसार आयाेजनाबाट उत्पादित विद्युत प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।