Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

बेनी-जोमसोम-कोरला सडककाे रुटमा ६ पुल निर्माण


म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थप ६ पुल निर्माण भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एउटा, मुस्ताङको थासाङ गाउँपालिकामा एउटा र लोमान्थाङ गाउँपालिकामा ४ वटा मोटरेबल पुल निर्माण भइ सञ्चालनमा आएको हुन् ।

अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेकाे आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको जानकारी दिए । “पन्चानब्बे प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्”, उनले भने, “पहुँचमार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।”

बेनी–जोमसोम–कोरला आयोजनाले ५ वटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

रघुगङ्गा-१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ हजार ४ सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले ७ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीसँग २०७६ असार ३१ गते ठेक्का सम्झौता गरिएकाे थियो । २० मिटर लामो लोमान्थाङ पुल ४ करोड ६८ लाख रुपैयाँ, ५० मिटर लम्बाइको किम्लिङ खोला पुल ६ करोड ३० लाख रुपैयाँ , ५० मिटर लामो नाम्डोक खोला पुल ६ करोड ३७ लाख रुपैयाँ र ८० मिटर लम्बाइको भर्मा खोला पुल ६ करोड ८५ लाख रुपैयाँमा निर्माण गरिएकाे हाे ।

पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।  योजनामार्फत १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७.२ मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

म्याग्दीको अन्नपूर्ण–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

७ वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुईलेनको कालोपत्र र ग्राभेल बनाउन  २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


Read Previous

झापा इनर्जीले उत्पादन गरेकाे १० मेगावाट साैर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडियाे

Read Next

 लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता   

Leave a Reply

Your email address will not be published.