Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

नारायणगढ-बुटवल सडककाे १८ किलोमिटर खण्डमा कालोपत्र   


नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८.५ किलोमिटर खण्डमा कालोपत्र गरिएको हाे ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेकाे छ । आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए ।

अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उनले बताए । “पूर्वी खण्डमा पर्ने दाउन्ने पहाडको पाँच किलोमिटर पहाडमध्ये चार किलोमिटर पहाड काटेर फराकिलो पारिसकेका छौँ”, उनले भने, “बाँकी रहेको एक किलोमिटर पहाड पनि एक महिनाभित्र काटेर सक्नेगरी काम अघि बढाएका छौँ ।”

दुम्कीबासतर्फबाट पहाडको भित्तो काट्दै गएको उल्लेख गर्दै पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अगाडि बढाइने उनले बताए । अहिले गैँडाकोटको भेँडाबारीबाट झराही खोलासम्म, देवचुलीको रजहर, कावासोतीको डण्डा बजार र कावासोती बजार क्षेत्रमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए ।

“कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब चार सय मिटर विवाद भएको छ”, उनले भने, “एक महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्र गरिसकिन्छ ।”

आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैँडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने उनले दाबी गरे ।

“दोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ, त्यतिबेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य  । हामीले विसं २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माणलाई तीव्रता दिएका छौं,”उनले भने ।

सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन । गैँडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेका कारण त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको भन्दै त्यसबाहेक अन्य अवरोध नरहेको उनले बताए । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ बाट सडक विस्तारको काम सुरु गरिएको थियो ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताउनुभयो । “पछिल्लो समय पूर्वी खण्डमा कल्भर्ट निर्माण, ठूला पुल निर्माण, तथा सडक किनारमा पर्खाल लगाउने काम भइरहेका छन्”, उनले भने, “सडक विस्तारको कामलाई तोकिएकै समयभित्र सम्पन्न गराउन हामीले निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौं ।”

यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये अधिकांश पुलको निर्माण सकिएको उनले बताए । “ठूला पुल निर्माणको काम पनि धमाधाम भइरहेको छ, दुई पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बाँकी पुलमा पनि काम भइरहेको हामीले पाएका छौँ”, ” उनले भने ।

यस खण्डको कुल बजेट ९ अर्ब १५ करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ ।

यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलाेमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि आयोजनाको पूर्वी खण्डमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् ।


Read Previous

‘ठूला जलविद्युत आयोजना निर्माण सरकारकाे प्राथमिकतामा’

Read Next

झापा इनर्जीले उत्पादन गरेकाे १० मेगावाट साैर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडियाे

Leave a Reply

Your email address will not be published.