Nepal Purbadhar

हरित पूर्वाधार प्रवद्र्धन गर्न लगानी फोरम हुँदै


काठमाडौं । हरित पूर्वाधारका प्रवद्र्धन गर्नका लागि दिगो पूर्वाधार लगानी फोरम हुने भएको छ । लगानी बाेर्ड नेपालले यही २९ भदाैमा लगानी फाेरम आयोजना हुन लागेकाे हाे ।

लगानी बोर्ड नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) हासिलका लागि पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले फोरम आयोजना गर्न लागेको हो ।

सम्मेलनमा स्वदेशी/विदेशी विज्ञ, प्राज्ञिक व्यक्तित्व सरकारी तथा निजी क्षेत्रका प्रतिनीधि लगायत गरी पाँच सय जनाको सहभागिता रहने बोर्डका सह–सचिव एवं सहायक प्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।

एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुनेछ ।

रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका (विजनेस गाइड) सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा नेपालमा विदेशी लगानीकर्ताको चासो बढ्दै गएको बताउँदै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले नेपालमा रहेका लगानीयोग्य सम्भाव्य परियोजनाहरुको बजारीकरण गर्नुका साथै लगानीकर्ताहरुका लागि नेपालमा रहेको प्रतिष्पर्धी लाभको बारेमा जानकारी दिन फोरम आयोजना गर्न लागेको बताए ।

‘पछिल्लो समयमा विश्वले दिगो र हरित पूर्वाधारबारे बहश भईरहेको छ, नेपालमा पनि दिगो र हरित पूर्वाधारको विकासका लागि ज्ञान आदानप्रदान गर्ने उद्देश्यले फोरम आयोजना गर्न लागेका हौ ।’ उनले भने ।

लगानी बोर्डका सह–सचिव एवं प्रवक्ता अमृत लम्सालले नेपालका परियोजनाहरुबारे जानकारी दिँदै यसबारे नेपालका रहेको लगानीको वातावरणबारे जानकारी दिन फोरम आयोजना गर्न लागेको बताए ।

उनका अनुसार, फोरममा नेपालका लगानी सम्बन्धी कानुन, नीतिदेखि कार्यान्वयनका लागि गर्ने सहजीकरणबारे पनि छलफल हुनेछ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्रीबाट हुने योजना छ ।


Read Previous

रेलमार्ग निर्माण र सञ्चालनमा सुधार गर्नुपर्ने विकास समितिका ११ सुझाव तथा निर्देशन

Read Next

नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४२ र सुरुङ खन्ने काम ६३ प्रतिशत सम्पन्न