
काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’ मार्फत प्रभावित परिवारको आवश्यकता मूल्याङ्कन गरिरहेको छ।
सर्वेक्षणबाट घरको क्षति, दिवंगत वा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको विकल्प तथा खानेपानी र सरसफाइलगायत आवश्यकताको विवरण संकलन गरिनेछ।
होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका प्रभावित परिवारको पनि सोही फारममार्फत सर्वेक्षण गरिनेछ।
