Nepal Purbadhar

लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीमा आपूर्ति भरपर्दो हुने आश


काठमाडौं। सर्लाहीको लालबन्दीबाट चक्रघट्टाको चैनपुरासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

लालबन्दी नगरपालिका-१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका-७, चैनपुरासम्म करिब २० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको हो।

चैनपुरामा निर्माण गरिएको सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका २ ओटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको १ ओटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए पुगेको छ।

स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि सबस्टेसनबाट ३३ केभीका ५ ओटा र ११ केभीका ६ ओटा फिडर निकालिएका छन्।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीका मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवा लगायतका क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै विद्युत चुहावट घट्नुका साथै न्यून भोल्टेज र बारम्बार हुने विद्युत विच्छेद (ट्रिपिङ) जस्ता समस्या न्यूनीकरण हुने प्राधिकरणले जनाएको छ। साथै, स्थानीय क्षेत्रमा बढ्दो विद्युत माग व्यवस्थापन गर्न र आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताए।

उनले प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका काम योजनाबद्ध रूपमा अघि बढाइएको बताए।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०८० वैशाखदेखि कार्यान्वयनमा आएको थियो।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा आयोजना निर्माण गरिएको हो।


Read Previous

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

Read Next

बबरमहलमा आकाशे पुल निर्माण तीव्र, पैदल यात्रुलाई सहज हुने अपेक्षा- तस्बिरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar