
कास्की। बाढी र पहिरोका कारण लामो समयदेखि अवरुद्ध नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। सडकको प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएपछि मंगलबार बिहानदेखि यातायात सेवा नियमित भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित चर्चित पर्यटकीय गन्तव्य घान्द्रुकलाई पोखरासँग जोड्ने यो सडक गत साउन २८ गतेदेखि अवरुद्ध थियो। मोदी खोला र किम्रुङ खोलामा आएको बाढीले सडकका विभिन्न स्थानमा क्षति पुर्याएपछि अन्नपूर्ण गाउँपालिका-८, ९, १० र ११ का बस्ती सडक सञ्जालबाट विच्छेद भएका थिए।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार सोमबार साँझसम्म सडक मर्मतको काम सम्पन्न भएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालन गरिएको हो।
अन्नपूर्ण गाउँपालिका-८ को बिरेठाँटी एबिसी, पुनहिल तथा घोडेपानी जाने मुख्य प्रवेशद्वारका रुपमा रहेको छ। बिरेठाँटीमा मोदी खोलाको कटानका कारण करिब १०० मिटर पक्की सडक बगेको थियो। बाढीले बिरेठाँटी बजारसमेत जोखिममा परेको थियो।
अध्यक्ष केसीले बाढीका कारण घान्द्रुक सडक सम्पर्कबाट विच्छेद हुँदा स्थानीय जनजीवनसँगै ग्रामीण पर्यटनसमेत प्रभावित भएको बताए। सडक अवरुद्ध हुँदा विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) जाने पर्यटकलाई समेत समस्या भएको थियो।
पर्यटकीय मौसम सुरू हुन लागेका बेला सडक सञ्चालनमा आएपछि घान्द्रुक, एबिसी, पुनहिल र घोडेपानी जाने पर्यटक तथा स्थानीय बासिन्दालाई आवागमनमा सहज हुने गाउँपालिकाले जनाएको छ।
सडक पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनी, सम्बन्धित सरकारी निकाय, निर्माण व्यवसायी तथा प्राविधिक टोली परिचालन गरिएको थियो।
बाढीले बगाएको स्थानमा ग्याविन जाली भर्ने, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालन योग्य बनाउने काम गरिएको अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए।
उनका अनुसार लामो समय सडक अवरुद्ध हुँदा घान्द्रुकको जनजीवन प्रभावित हुनुका साथै पर्यटकीय क्षेत्रसमेत सुनसान बनेका थिए। सडक खुलेपछि स्थानीय बासिन्दा, पर्यटक, व्यवसायी तथा सर्वसाधारणलाई आवागमनमा सहज भएको उनले बताए।
गाउँपालिकाले मनसुन अझै बाँकी रहेकाले सडकका विभिन्न स्थानमा वर्षा तथा पहिरोका कारण पुनः अवरोध आउन सक्ने जनाएको छ। गाउँपालिकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

