
हुम्ला। कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै खसेका ठूला ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब १०० मिटर सडकमा ठूला ढुङ्गा थुप्रिएका छन्।
पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन थप समस्या भएको हिल्सा-सिमकोट सडक आयोजनाले जनाएको छ। सडकमा खसेका ढुङ्गा सामान्य स्काभेटरबाट हटाउन नसकिने भएपछि ड्रिल मेसिन प्रयोग गरी ब्लास्टिङ गरेर फुटाउने तयारी गरिएको आयोजनाका प्रमुख बेलबहादुर नेपालीले बताए।
उनका अनुसार ठूला ढुङ्गा हटाउन स्काभेटर मात्र पर्याप्त नहुने देखिएपछि विस्फोट गराउने तयारी भइरहेको छ। तर मौसम तथा अन्य प्राविधिक अवस्था अनुकूल नभए सडक सञ्चालनमा ल्याउन अझै करिब एक साता लाग्न सक्ने उनले बताए।
सडक खुलाउन आवश्यक बजेट व्यवस्थापनको कामसमेत भइरहेको आयोजनाले जनाएको छ। आयोजनाले प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरी सडक सञ्चालनमा ल्याउने कामलाई निरन्तरता दिएको छ।
सडक अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटोबाट आवतजावत गर्न बाध्य भएका छन्। स्थानीय कमल बुढाका अनुसार यात्रुहरूले सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई वारपार गरिरहेका छन्।
ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले समेत निकै जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम सिमकोट पुगेको बताए। विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गर्दा तत्काल सडक खुलाउने उपाय नभेटिएपछि भर्याङ र डोरीको सहायताले भिर छिचोलेर सिमकोट पुगेको उनले बताए।
पहिरोका कारण कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत र नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट र कैलाश मानसरोवर दर्शनका लागि जाने यात्रुसमेत प्रभावित भएका छन्।
आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालन भइरहेको जानकारी दिँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भिरबाट आवतजावत नगर्न आग्रह गरेका छन्।

