
काठमाडौं। सेयर बिक्रीबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर ५० प्रतिशत घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद्ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावअनुसार करको दर घटाउने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै अब ३६५ दिनसम्म स्वामित्वमा राखेर बिक्री गरिने सेयरबाट प्राप्त नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधि होल्ड गरेर बिक्री गरिएको सेयरबाट प्राप्त नाफामा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था भएको छ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सेयर बिक्रीबाट हुने नाफामा लाग्ने करको दर बढाएर ३६५ दिनसम्म होल्ड गरिएको सेयरमा ७.५ प्रतिशत र त्यसभन्दा बढी अवधि होल्ड गरिएको सेयरमा ५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको थियो।
सेयर बजारमा देखिएको दबाब तथा लगानीकर्ताको मागलाई सम्बोधन गर्ने उद्देश्यले अर्थमन्त्री वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनामा पुँजीगत लाभकर घटाउने प्रस्ताव अघि सारेका थिए। अर्थ मन्त्रालयले पनि पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को निर्णयपछि घटाइएको कर दर कार्यान्वयनमा आउने बाटो खुलेको हो। यससँगै सेयर कारोबारबाट प्राप्त हुने नाफामा व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकरको भार घटेको छ।

