
काठमाडौं । बेलायत सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनामा प्राविधिक तथा आर्थिक सहयोग गर्ने भएको छ ।
पूर्वाधार विकास मन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच सोमबार पूर्वाधार विकास मन्त्रालयमा भएको भेटवार्तामा बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल भएको हो ।
छलफलमा बेलायत सरकारले गल्छी–रसुवागढी सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज उपलब्ध गराउनुका साथै सो क्षेत्रमा हुने पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढीका कारण गल्छी–रसुवागढी सडकखण्डका विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुगेपछि आवागमन प्रभावित भएको छ । सडक सञ्चालनका लागि सरकारले तत्काल वैकल्पिक संरचना निर्माण तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापनाको काम अघि बढाइरहेको छ ।
भेटमा नेपाल सरकारले अघि बढाएका दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको मन्त्रालयले जनाएको छ ।
यद्यपि, बेलायतबाट उपलब्ध हुने आर्थिक सहयोगको रकम, कति वटा बेलिब्रिज उपलब्ध हुने तथा सहयोग कार्यान्वयनमा आउने समयसीमाबारे मन्त्रालयले स्पष्ट विवरण सार्वजनिक गरेको छैन।


