Nepal Purbadhar

प्राविधिक समस्या समाधान भएपछि आजदेखि शेयर कारोबार पुनः सञ्चालन


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित धितोपत्र कारोबार पुनः सञ्चालन हुने भएको छ। नेप्सेका ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार पूर्ववत् रूपमा सञ्चालन गर्न लागिएको हो।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि असोज ६ गतेदेखि नियमित कारोबार सञ्चालन गर्ने निर्णय भएको हो।

डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो। समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो।

घटनाबारे नेपाल धितोपत्र बोर्डले समेत अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

बोर्डले घटनाको निरीक्षण तथा जाँचबुझका लागि उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ।

डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएसँगै शेयर कारोबार पुनः सञ्चालन हुने भए पनि समस्या उत्पन्न हुनुको प्राविधिक कारण र यसबाट सिर्जना हुन सक्ने प्रणालीगत जोखिमबारे भने विस्तृत पहिचान हुन बाँकी रहेको छ।


Read Previous

कर्णाली करिडोरको छारेभिरमा ठूला ढुङ्गासहित पहिरोले सकस, सडक खुलाउन ब्लास्टिङको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar