
कर्णाली। दैलेखको दुल्लु नगरपालिका-१ भम्लु खोलामा सुख्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।
सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत भम्लु खोलामा गएराति करिब ९:१० बजे माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। सडक अवरुद्ध हुँदा चार दर्जनभन्दा बढी सवारीसाधन बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहान ६ बजेदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी पहिरो पन्छाएर जतिसक्दो छिटो आवागमन सञ्चालन गर्ने प्रयास भइरहेको छ।
यसअघि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका- पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि सडक अवरुद्ध भएको थियो। ती स्थानमा पहिरो पन्छाएपछि मंगलबार दिउँसो २ः४५ बजेदेखि राजमार्ग सञ्चालनमा आएको थियो।
तर दैलेखमा पुनः सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाँदै गरेका यात्रु र स्याउ व्यापारीहरू प्रभावित भएका छन्। उनीहरूलाई लामो समयसम्म बाटोमै रोकिँदा सास्ती भएको जनाइएको छ।
