Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमणमा आए,भारतीयको संख्या बढी


काठमाडौं । सन् २०२२ सुरु भए यता विभिन्न देशका ३ लाख २३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीदेखि अगष्टसम्मको अवधिमा यति पर्यटक नेपाल घुम्न आएका हुन् ।

अगष्ट महिनामा मात्रै ४१ हजार ३ सय ४ पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जानकारी दिएको छ । विभागका अनुसार जुलाई महिनामा अगष्टको भन्दा बढी ४४ हजार ४ सय ६२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अप्रिल र मे महिनाको तुलनामा जुन र जुलाईमा आउने पर्यटकको संख्या कम छ । अप्रिल महिनामा ५८ हजार २ सय ४८ जना आउँदा  मे महिनामा ५३ हजार ६ सय ८ जना पर्यटक नेपाल आएकाे विभागकाे तथ्यांक छ । जुन महिनामा ४६ हजार ९ सय ५७ जना आएकाेमा जुलाई महिनामा ४४ हजार ४ सय ६२ पर्यटक आएकाे देखिन्छ ।

यो अवधिमा सबैभन्दा बढी पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । भारतपछि अमेरिका बेलायतलगायत पश्चिमा मुलुकबाट नेपाल आउनेको संख्या बढी छ । पछिल्लो समय बंगलादेशबाट आउने पर्यटकको संख्या पनि बढिरहेको विभागले जनाएको छ ।

अफ सिजनमा एक महिनामा ४० हजार बढी पर्यटक नेपाल भित्रिनुले कोभिड–१९ महामारीअघिको अवस्थामा पुग्ने संकेत मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धन्नजय रेग्मीले बताए । उनका अनुसार छिमेकी भारत, बंगालादेशसँगै अमेरिकी र युरोपेली देशबाट आउने पर्यटकको संख्या पनि क्रमशः बढ्दै गइरहेको छ ।

‘८ महिनाको पर्यटक आगमनको तथ्यांकले पर्यटन क्षेत्रको अवस्था पुरानै लयमा फर्किन लागेकाे हामीले देखिरहेका छौं,’ उनले भने,‘अहिलेको आगमन दर बढाउन बोर्डले पनि विश्व व्यापीरूपमा प्रचार–प्रसारकाे काम गरिरहेको छ ।’

सन् २०१९ को अन्त्यबाट ठप्प जस्तै भएको पर्यटक आगमन दर सन् २०२२ को सुरुवातेखि नै बिस्तार बढ्द सुरु गरेकाे हाे । जनवरीमा १७ हजार हाराहारीमा पर्यटक भ्रमणमा आएको विभागले जनाएकाे छ । अहिले यो संख्या बढेर मासिक औसत ४० हजार पुगेको छ ।

कोभिड–१९ महामारीपछि अवस्था सामान्य बन्दै जाँदा अफ सिजनमा समेत नेपाल आउने पर्यटकको संख्या बढ्दै जानुले पर्यटन क्षेत्रका लागि राम्रो संकेत दिएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । ‘कोभिड–१९ महामारीका कारण पछिल्लो ३ वर्षदेखि पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको अवस्था थियो,’ उनले भने, ‘नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएकाले अब यो क्षेत्रको अवस्था पनि सुधार हुँदै जानेछ भन्ने विश्वास लागेको छ ।’

उनले सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरका लागि पनि विभिन्न देशका पर्यटकले हाेटल प्रि–बुकिङ गरिरहेको जानकारी दिए । शाहले कोभिड–१९ पछि पर्यटकका लागि नेपाल पूर्णरूपमा खुल्ला भइसकेकोबारे अन्तर्राष्ट्रिय जगतमा प्रचार–प्रसार गर्न नसकेकाले आउनु पर्ने जति पर्यटक अझै नआएको बताए । नेपालले आक्रमक शैलीमा प्रचार–प्रसार गरी पर्यटकको आगमन दर बढाउन सक्ने उनको भनाई छ ।

फेब्रुअरीमा २० हजार तथा मार्चमा ४२ हजार पर्यटक विभिन्न देशबाट हवाई मार्ग हुँदै नेपाल घुम्न आएका थिए । सन् २०१९ को अन्त्यमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको थियो ।


Read Previous

बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययनका लागि सुझाव माग

Read Next

बूढीगण्डकी आयोजना निर्माण गर्न कम्पनी स्थापना

Leave a Reply

Your email address will not be published.