Nepal Purbadhar

६० रोपनी जग्गा छुट प्रकरणमा माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनामाथि भ्रष्टाचार मुद्दा, ७३ करोड बिगो मागदाबी


काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मोरङमा रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो।

अख्तियारले प्रतिवादीहरूसँग ७३ करोड ४९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।

मुद्दा दायर गरिएकामध्ये तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मीनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरे छन्। मुख्यसचिव घिमिरेकी छोरी कमला घिमिरेलाई समेत प्रतिवादी बनाइएको छ।

त्यस्तै, तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटालाई पनि प्रतिवादी बनाइएको छ।

यसैगरी शाखा अधिकृत बलराम निरौला, भूमि सुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखुरेल र तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्कीसहित मालपोत कार्यालयका विभिन्न अधिकारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

अख्तियारले जग्गा छुट दिने प्रक्रियामा संलग्न रहेको आरोपमा तत्कालीन राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी तथा कर्मचारीसहित ९७ जनालाई प्रतिवादी बनाएको हो।


Read Previous

नेपालको डिजिटल भुक्तानी परिपक्व बन्दै जाँदा सब्स्क्रिप्सन मोडलमा किन पछाडि?

Read Next

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य, इमरान, लोकेश र रसेलको अर्धशतक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar