Nepal Purbadhar

राष्ट्रियस्तरका खेलाडी जन्माएको महेन्द्रनगरमा अझै छैन स्तरीय क्रिकेट पूर्वाधार, १० वर्षदेखि मैदान अलपत्र

फाइल तस्बिर।


महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा १० वर्षअघि निर्माण सुरू गरिएको क्रिकेट मैदान अझै पूरा हुन सकेको छैन। विसं २०७२ मा निर्माण थालिएको मैदान बजेट अभावका कारण एक दशक बितिसक्दा पनि अधुरै रहेको हो।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि पर्याप्त बजेट नआउँदा मैदानले पूर्णता पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। उनका अनुसार निर्माण सुरू भएयता विभिन्न समयमा प्राप्त करिब डेढ लाख रुपैयाँ माटो भरानमै खर्च भएको छ।

यसपटक भने राष्ट्रिय खेलकुद परिषद्ले मैदान निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटबाट काम अघि बढाउन ठेक्का आह्वानको प्रक्रिया अगाडि बढाइएको अध्यक्ष चन्दले जानकारी दिए।

दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भीम सार्की र सन्दी पजोरा लगायतका राष्ट्रियस्तरका खेलाडी जन्माएको महेन्द्रनगरमा अझै स्तरीय क्रिकेट पूर्वाधार नहुँदा खेलाडीले समस्या भोग्दै आएका छन्। तीन करोड रुपैयाँको ठेक्का भएर निर्माण सुरू भए अर्को वर्षदेखि मैदानमा खेल सञ्चालन र प्रतियोगिता आयोजना गर्न सकिने चन्दको अपेक्षा छ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले पनि क्रिकेटप्रतिको आकर्षण बढ्दै गएकाले संघ र प्रदेश सरकारले खेल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए।

उनका अनुसार जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कञ्चनपुरका मात्रै १३ जना खेलाडी विभिन्न टोलीबाट खेलिरहेका छन्। राष्ट्रियस्तरका प्रतियोगितामा जिल्लाका खेलाडीको निरन्तर उपस्थितिले कञ्चनपुर क्रिकेट प्रतिभाको उर्वर भूमि बनेको पुष्टि गर्ने उनको भनाइ छ।

सिंहले क्रिकेटलगायत खेल पूर्वाधार निर्माणलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रदेश सरकारको लगानीमा बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको भए पनि छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा क्रिकेट पिचबाहेक अन्य आवश्यक संरचना निर्माण हुन नसकेको उनले बताए।


Read Previous

होटल तथा रेस्टुरेन्टलाई निलो सिलिण्डरमा ग्यास, प्रतिसिलिण्डर २७ सय रुपैयाँ पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar