Nepal Purbadhar

सडक मर्मतमा नयाँ प्रविधि प्रयोग गर्दै एमसीए नेपाल, फूल डेप्थ रिक्लेमेसन उपकरण फिल्डमा


काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि लमहीसम्मको सडक चौडा तथा पुनःस्थापना गर्ने काममा आधुनिक प्रविधि प्रयोग गरिने भएको छ। सडक मर्मतका लागि आवश्यक फूल डेप्थ रिक्लेमेसन (एफडीआर) उपकरण दाङ आइपुगेका छन्।

एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत सञ्चालन गरिरहेको सडक मर्मत आयोजनामार्फत नेपालमै पहिलो पटक यो प्रविधि प्रयोग गर्न लागेको हो।

यस प्रविधिमा विद्यमान सडकबाट निस्कने अस्फाल्टलगायत सामग्रीलाई पुनः प्रयोग गरेर सडक निर्माण तथा मर्मत गरिन्छ। यसले सडक निर्माणलाई तुलनात्मक रूपमा किफायती, टिकाउ र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

पुरानो सडकको सतहमा रहेका सामग्रीलाई पुनः प्रशोधन गरी प्रयोग गर्न सकिने भएकाले नयाँ निर्माण सामग्रीको आवश्यकतासमेत कम हुने यस प्रविधिको विशेषता हो। एमसीए–नेपालका अनुसार सडक मर्मतमा आधुनिक विधि भित्र्याउँदा आगामी दिनमा सडक पुनःस्थापना कार्यलाई थप कुशल र प्रभावकारी बनाउन सकिनेछ।

धानखोला–लमही सडक खण्डको मर्मतसँगै सडकको चौडाइ पनि विस्तार गरिनेछ। योजनाअनुसार दुवैतर्फ सात–सात मिटर चौडा क्यारिजवे र साढे दुई–दुई मिटर चौडा सोल्जर निर्माण गरिनेछ। यसबाट सडकको कुल चौडाइ १२ मिटर पुग्नेछ।

सडक मर्मतमा नयाँ प्रविधिको प्रयोग र चौडाइ विस्तारले पूर्व–पश्चिम राजमार्गको उक्त खण्डको सडक पूर्वाधार सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

ग्रीन भेन्चर्सको नाफा ११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ३३ करोड ६७ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar