Nepal Purbadhar

मन्त्रिपरिषद् बैठकका निर्णय: एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकारदेखि मोही जग्गा बाँडफाँटको म्याद थपसम्म


काठमाडौं। सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको हो। बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद शेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ।

बैठकले कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। साथै, मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गरेको छ।

त्यस्तै, तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म थप गर्ने निर्णय गरेको छ। त्यस्तै, जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी कारबाही टुङ्ग्याउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिएको छ।

यसैगरी, बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।


Read Previous

तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रुख कटान प्रक्रिया सुरू

Read Next

३३ लाख रुपैयाँसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ, मध्यपुर थिमिको सेवा प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar