
Starship 42, atop the Super Heavy v3 Booster 22, lifts off on its 15th test flight from the SpaceX launch complex in Starbase, Texas, US, November 13, 2026. SpaceX plans to return and capture the booster and Starship after the launch. REUTERS/Joe Skipper
काठमाडौं। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यस परीक्षणसँगै अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीको सहायताले सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।
शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः२० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो। करिब २२ घण्टा ३० मिनेटको उडानपछि यान सुरक्षित रूपमा अवतरण भएको हो।
यस परीक्षणको मुख्य उद्देश्य सुपर हेभी बुस्टर र स्टारसिप दुवैलाई एउटै उडानमा प्रक्षेपण टावरको विशेष यान्त्रिक प्रणालीमार्फत समात्नु थियो। यद्यपि, उडानका क्रममा दुवै भाग छुट्टिएपछि सुपर हेभी बुस्टर भने निर्धारित प्रक्षेपणस्थलमा फर्किन सकेन। उक्त बुस्टर मेक्सिकोको खाडीमा समुद्रमा अवतरण भएको थियो।
यसैबीच, स्टारसिपले आफ्ना र्याप्टर इन्जिन सञ्चालन गर्दै पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। सो क्रममा यानले २६ वटा नयाँ पुस्ताका ‘स्टारलिङ्क भी३’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो।
भूउपग्रह प्रक्षेपणपछि २० घण्टाभन्दा बढी अन्तरिक्षमा रहेको स्टारसिपलाई पृथ्वीमा फर्काउने प्रक्रिया सुरु गरिएको थियो। स्पेसएक्सको उडान नियन्त्रण टोलीले र्याप्टर इन्जिन पुनः सञ्चालन गरी यानलाई पृथ्वीको कक्षबाट बाहिर निकालेको थियो।
त्यसपछि यान मेक्सिकोको खाडी हुँदै टेक्सासस्थित प्रक्षेपणस्थलतर्फ अघि बढेको थियो। वायुमण्डलमा पुनः प्रवेश गरेपछि तीनवटा र्याप्टर इन्जिन सञ्चालन गर्दै स्टारसिपले आफ्नो गति र दिशा समायोजन गरेको थियो। अन्ततः प्रक्षेपण टावरमा जडान गरिएको विशेष यान्त्रिक प्रणालीले यानलाई सफलतापूर्वक समातेको थियो।
यसअघि सेप्टेम्बर २८ मा भएको परीक्षण उडानमा पनि स्टारसिप पहिलोपटक पृथ्वीको कक्षमा पुगेको थियो। उक्त उडानका क्रममा २६ वटा स्टारलिङ्क भी३ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।
स्टारसिप र सुपर हेभी बुस्टर मिलेर बनेको यो रकेट प्रणाली पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास भइरहेको छ। स्पेसएक्सले यस प्रविधिमार्फत पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रहलगायत अन्य अन्तरिक्ष गन्तव्यमा यात्रु तथा सामग्री पुर्याउने लक्ष्य राखेको छ।
स्टारसिपको पछिल्लो सफल अवतरणलाई पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष प्रविधिको विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

