
दमौली। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रहेका रुख कटानको प्रक्रिया सुरू गरिएको छ।
यसका लागि आयोजनाले जलाशय क्षेत्रभित्र पर्ने २५ ओटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग पहिलो चरणको परामर्श बैठक गरेको छ। डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित बैठकमा जलाशय क्षेत्रका रुख गणना, छपान तथा कटानसम्बन्धी प्रक्रियाबारे छलफल भएको आयोजनाले जनाएको छ।
बैठकमा रुख गणना, छपान र कटानका लागि अपनाउनुपर्ने विधि तथा प्रक्रियाबारे सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई जानकारी गराइएको थियो। साथै, उक्त कार्यमा वन उपभोक्ता समूहको भूमिका, सहभागिता र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको थियो।
आयोजना प्रमुख श्यामजी भण्डारीले जलाशय क्षेत्रमा पर्ने रुख कटानको काम व्यवस्थित रूपमा अघि बढाउन सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श सुरू गरिएको बताए। रुख गणना, छपान तथा कटानसम्बन्धी प्रक्रिया अघि बढाउँदा सम्बन्धित वन समूहको सहभागिता र समन्वयलाई महत्त्व दिइएको उनको भनाइ छ।
जलाशय क्षेत्रभित्र पर्ने वन क्षेत्रको व्यवस्थापन आयोजनाको निर्माण प्रक्रियासँग जोडिएको विषय भएकाले प्रचलित वनसम्बन्धी कानुनी व्यवस्था र निर्धारित प्रक्रियाअनुसार काम अघि बढाइने भण्डारीले बताए।
रुख गणना, कटान तथा आवश्यक प्रक्रिया पूरा गर्न उपभोक्ता समूहले कसरी सहभागिता जनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो। छलफलका विषय कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।



