Nepal Purbadhar

एनपीएल: टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

आजको खेलमा चितवनले टोलीमा पाँच परिवर्तन गरेको छ। अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलान टोलीबाट बाहिरिएका छन्। उनीहरूको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरले मौका पाएका छन्।

यता, कर्णालीले भने टोलीमा एक मात्र परिवर्तन गरेको छ। दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा टोलीमा आएका छन्।

चितवन राइनोज यसअघि नै अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। लगातार चार खेलमा पराजित भएपछि कर्णाली याक्स भने प्लेअफ दौडबाट बाहिरिसकेको छ।

कर्णालीले प्रतियोगिताको सुरुवाती दुई खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। तर त्यसपछि काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग लगातार हार बेहोरेको थियो।

चितवनले भने विराटनगरलाई पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो। वर्षाका कारण लुम्बिनीसँगको खेल रद्द भएको चितवनले सुदूरपश्चिमसँग हार बेहोरेको थियो। त्यसपछि पोखरालाई हराएको चितवन काठमाडौंसँग पराजित भए पनि पछिल्लो खेलमा जनकपुरलाई हराउँदै प्लेअफ सम्भावना बलियो बनाएको थियो।

हालसम्म एनपीएलमा कर्णाली र चितवनबीच तीन खेल भएका छन्। जसमा कर्णालीले दुई खेल जित्दा चितवनले एक खेल आफ्नो पक्षमा पारेको छ।

पहिलो संस्करणमा कर्णालीले चितवनलाई लिग चरणमा ६ विकेट र एलिमिनेटरमा २१ रनले पराजित गरेको थियो। दोस्रो संस्करणमा भने चितवनले कर्णालीलाई चार विकेटले हराउँदै अघिल्लो हारको बदला लिएको थियो।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवन र प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीबीचको आजको खेल प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा रहनेछ।


Read Previous

साहस ऊर्जाको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो ५९ करोड ९१ लाख

Read Next

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, पहिलोपटक प्रक्षेपण टावरमै स्टारसिप सुरक्षित अवतरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar