
काठमाडौं । एलपी ग्यास उद्योगीहरूले तत्कालै १० प्रतिशत ग्यास औद्योगिक तथा व्यावसायिक क्षेत्रमा परल मूल्यमा बिक्री गर्ने निर्णय गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघको सोमबार साँझ बसेको राष्ट्रिय भेलाले यस्तो निर्णय गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक क्षेत्रमा ३० प्रतिशत ग्यास परल मूल्यमा बिक्री गर्न आग्रह गरे पनि उद्योगीहरूले तत्कालका लागि १० प्रतिशत ग्यास निलो सिलिण्डरमार्फत बिक्री गर्ने निर्णय गरेका हुन्।
संघका अनुसार उद्योगीहरूले आफ्नो निर्णय मंगलबार नेपाल आयल निगमलाई बुझाउनेछन्। प्रत्येक ग्यास उद्योगले खरिद आदेश (पीडीओ) लिँदा १० प्रतिशत ग्यास परल मूल्यमा खरिद गर्ने र अहिलेका सिलिण्डरलाई निलो रंग लगाएर व्यावसायिक प्रयोजनमा बिक्री गर्ने तयारी छ।
तत्कालका लागि होटल तथा रेस्टुरेन्टले पनि १४.२ किलो क्षमताकै सिलिण्डर प्रयोग गर्न पाउनेछन्। पछि भने व्यावसायिक क्षेत्रमा १९, ५० र ४५० किलोका ठूला सिलिण्डर प्रयोगमा ल्याउने योजना छ। ठूला सिलिण्डर बजारमा ल्याउन नेपाल गुणस्तर चिह्नलगायत प्रक्रिया पूरा गर्न करिब ६ महिना लाग्ने उद्योगीहरूको भनाइ छ।
उद्योगीको निर्णय कार्यान्वयन भए हालको मूल्यअनुसार होटल तथा रेस्टुरेन्टले एक सिलिण्डर ग्यासका लागि २ हजार ७०० रुपैयाँ तिर्नुपर्नेछ। नेपाल आयल निगमले अहिले घरायसी प्रयोजनका लागि एक सिलिण्डर ग्यास २ हजार ६० रुपैयाँमा बिक्री गरिरहेको छ। निगमलाई प्रतिसिलिण्डर ६४० रुपैयाँ घाटा रहेको बताइएको छ।
यसैबीच, संघले आगामी माघ १ गतेदेखि ग्यास कारोबारमा भ्याट बिल अनिवार्य गर्ने निर्णय पनि गरेको छ। पुस मसान्तसम्म सबै डिलरलाई भ्याटमा दर्ता हुन समय दिइनेछ। वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कारोबार गर्ने फर्म भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।


