Nepal Purbadhar

‘नेपालको बिजुली, भारतको बजार जोड्ने एजेन्डामा केन्द्रित होस् प्रधानमन्त्रीको भारत भ्रमण’-उपाध्यक्ष पन्त


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपाल भारतबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक क्षेत्रमा मात्रै सीमित नराखी ऊर्जा, व्यापार तथा लगानीका क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री शाह चार जना मन्त्रीसहित मंसिर ७ देखि ९ गतेसम्म भारतको पहिलो औपचारिक भ्रमणमा जाने तयारीमा छन् । भ्रमणका क्रममा जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने तयारी छ । रामायणसँग जोडिएका दुई धार्मिक तथा सांस्कृतिक सहरलाई रेलमार्गबाट जोड्ने योजना अन्तिम चरणमा पुगेको छ । ६०४ किलोमिटर दूरीको उक्त रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । यसले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

पन्तले सांस्कृतिक सम्बन्धसँगै दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा पनि प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने बताए । ‘हामीसँग पर्याप्त बिजुली उत्पादन गर्ने क्षमता छ । भारतीय बजारमा त्यसको अत्यधिक माग छ । हाम्रो पहाडको बिजुली र भारतीय बजारका उपभोक्ताबीचको सम्बन्ध बढाउने गरी काम गर्नुपर्नेछ,’ उनले भने ।

उनले नेपालबाट बंगलादेशसम्म विद्युत् व्यापारको कनेक्टिभिटी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । अहिले नेपालले बंगलादेशलाई ४० मेगावाट मात्रै बिजुली बिक्री गर्न पाउँछ । प्रसारण पूर्वाधारको अभावलाई देखाउँदै भारतले ४० मेगावाटको अनुमति दिएको हो । उनले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसमेत भ्रमणका जान लागेकाले ऊर्जाका एजेण्डामा छलफल र निर्णय गर्न सहज हुने बताए ।

प्रधानमन्त्री शाह ।

निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) दिइसकिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा यस विषयमा छलफल भए भविष्यमा निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सहज हुने बताए ।

पन्तले नेपाल र भारतबीच ठूला क्षमताका प्रसारणलाइन निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याए । अहिले सीमित क्षमताका प्रसारणलाइन मात्रै रहेकाले करिब १२०० मेगावाटसम्म विद्युत् आयात–निर्यात गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भइसकेको अवस्थामा त्यसअनुसारको प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए ।

‘प्रसारणलाइनबिना विद्युत् व्यापार गर्न सकिँदैन । सरकारले नसके प्रसारणलाइन निजी क्षेत्रले बनाउँछ । हामी र भारतको निजी क्षेत्र मिलेर पनि बनाउन सक्छौं । दुई देशका सरकारले व्यापार गर्ने निर्णय गरेर सहजीकरण गरिदिए पूर्वाधार जति पनि निजी क्षेत्रले बनाउन सक्छ,’ पन्तले भने ।

त्यसैगरी, उनले भारतीय लगानीकर्तालाई नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताए । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहँदा भारतीय लगानीकर्ताको सहभागिता पनि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

पन्तका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारणलाइन, बंगलादेशसम्मको विद्युत् पहुँच र जलविद्युत् क्षेत्रमा भारतीय लगानीका विषयले प्राथमिकता पाए नेपाल–भारत आर्थिक सहकार्यलाई थप बलियो बनाउन सकिनेछ ।


Read Previous

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, पहिलोपटक प्रक्षेपण टावरमै स्टारसिप सुरक्षित अवतरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar