Nepal Purbadhar

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खनन हुन सकेन, तस्बिर समाचार

Natural gas in Dailekh. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library


काठमाडौं । नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा हेरिएको दैलेखको पेट्रोलियम अन्वेषण परियोजना पहिलो चरणको काम पूरा गरेर व्यावसायिक उत्खननको प्रतीक्षामा रहेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गरिएको ड्रिलिङबाट प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि भएको छ।
खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन् २०१६ मा भएको समझदारीलाई आधार बनाएर अघि बढाइएको यो परियोजनालाई नेपालको ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको छ।
नेपाल सरकार र चीन सरकारबीच २०७५ फागुन १६ (२८ फेब्रुअरी २०१९) मा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता भएको थियो। चीन सरकारले करिब दुई अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने गरी परियोजना अघि बढाएको हो। सुरुमा तीन वर्षभित्र अन्वेषण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड महामारी, भौगोलिक कठिनाइ, सडक पूर्वाधारको समस्या, उपकरण ढुवानी तथा जग्गा अधिग्रहणलगायत कारणले काममा ढिलाइ भएको थियो।
Natural gas in Dailekh. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
परियोजनाको पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले भौगर्भिक सर्वेक्षण, सिस्मिक सर्वेक्षण, म्याग्नेटोटेल्युरिक सर्वेक्षण तथा जियोकेमिकल स्याम्पलिङलगायत अध्ययन गरेको थियो। ती अध्ययनबाट पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास हुन सक्ने सम्भावित क्षेत्र पहिचान भएपछि जलजलेमा ड्रिलिङ गर्ने स्थान तय गरिएको थियो।
यसका लागि भैरवी गाउँपालिका–१ जलजलेमा करिब ४५ रोपनी जग्गा अधिग्रहण गरी आवश्यक संरचना निर्माण गरिएको थियो। त्यसपछि सन् २०२४ मे महिनाबाट सुरु भएको ड्रिलिङका क्रममा जमिनमुनि चार हजार १३ मिटर गहिराइसम्म खनिएको थियो। ड्रिलिङबाट संकलन गरिएका माटो तथा चट्टानका नमुना परीक्षणका लागि चीन पठाइएको थियो।
Natural gas in Dailekh. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यासको भण्डार
चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदनअनुसार जलजले क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ। यसअघि प्रारम्भिक अध्ययनले ११२ अर्ब घनमिटरसम्म ग्यास हुन सक्ने अनुमान गरेको थियो।
तर ग्यासको भण्डार पहिचान हुँदैमा व्यावसायिक उत्पादन तत्काल सुरु गर्न सकिने अवस्था भने छैन। ग्यासको गुणस्तर, दबाब, प्रवाह क्षमता र व्यावसायिक रूपमा निकाल्न सकिने अवस्थाबारे थप परीक्षण आवश्यक रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ। विशेषगरी ‘वेल टेस्टिङ’ अर्थात् इनार परीक्षणपछि मात्रै उत्पादनको सम्भावना र आवश्यक प्रविधिबारे टुंगो लाग्नेछ।
Natural gas in Dailekh. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
दोस्रो चरणको कामका लागि सम्झौताको तयारी
पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण सम्पन्न भइसके पनि दोस्रो चरणको काम भने अघि बढ्न सकेको छैन। परीक्षणका लागि आवश्यक प्रक्रिया र चीनसँगको थप सम्झौता नहुँदा आयोजनाको काम अघि बढ्न सकेको छैन् ।
२०७३ सालमा भएको नेपाल–चीन समझदारी र २०७५ सालको सम्झौताअनुसार अघि बढेको परियोजनालाई व्यावसायिक उत्पादनतर्फ लैजान खानी तथा भूगर्भ विभागले २०८३ जेठमा चीनको चाइना जियोलोजिकल सर्भेसँग दोस्रो चरणको सम्झौताका लागि आन्तरिक तयारी थालेको जनाएको थियो।
तर २०८३ साउनमा प्रकाशित विवरणअनुसार दोस्रो चरणको काम सुरु हुन नसक्दा जलजलेमा जडान गरिएका महँगा ड्रिलिङ मेसिन तथा उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्। केही उपकरणमा खिया लाग्न थालेको स्थानीय व्यवसायीले बताएका छन्। दोस्रो चरणको काम कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट समयतालिका भने सार्वजनिक भएको छैन।
Natural gas in Dailekh. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
उत्पादन सुरु भए नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?
दैलेखमा प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन सम्भव भए नेपालले पेट्रोलियम पदार्थ तथा ग्यासको आयातमा खर्च गर्दै आएको ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ। प्राकृतिक ग्यासलाई खाना पकाउने इन्धन, उद्योग सञ्चालन, विद्युत् उत्पादन तथा अन्य औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ।
त्यस्तै, व्यावसायिक उत्पादन सुरु भए दैलेखसहित कर्णाली प्रदेशको आर्थिक गतिविधि बढ्ने, रोजगारी सिर्जना हुने, पूर्वाधार विकास हुने र विदेशी लगानी आकर्षित हुने सम्भावना छ। तर यसका लागि ग्यास प्रशोधन केन्द्र, भण्डारण, ढुवानी तथा वितरण प्रणाली निर्माण गर्नुपर्ने हुन्छ।
Natural gas in Dailekh. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library
हालसम्मको अध्ययनले दैलेखमा प्राकृतिक ग्यासको उल्लेख्य भण्डार रहेको देखाए पनि त्यसको व्यावसायिक उत्पादन सम्भाव्यता परीक्षणबाट पुष्टि हुन बाँकी छ।
त्यसैले अहिले दैलेखको पेट्रोलियम परियोजनाको मुख्य चुनौती उत्खननका लागि थप प्राविधिक परीक्षण, नेपाल–चीनबीच दोस्रो चरणको सम्झौता र व्यावसायिक उत्पादनको स्पष्ट योजना निर्माण गर्नु हो। वर्षौँदेखि अन्वेषणमा लागेको आयोजना अब उत्पादनको चरणमा पुग्न सरकारको सक्रियता र आवश्यक लगानीको प्रतीक्षामा छ।

Read Previous

पीपीएका लागि नयाँ मापदण्ड प्रस्ताव : १०० अंकको मूल्यांकन, वर्षायामको बिजुलीको जोखिम उत्पादककै काँधमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar