Nepal Purbadhar

ग्रीन भेन्चर्सको नाफा ११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ३३ करोड ६७ लाख


काठमाडौं । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफामा वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ११.१८ प्रतिशतले बढेको हो।

कम्पनीको नाफा वृद्धिमा विद्युत् बिक्री आम्दानीमा भएको सुधारसँगै वित्तीय खर्च घट्नुले महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५७ करोड ५८ लाख रुपैयाँ थियो।

आयोजना सञ्चालनमा १६ करोड ३४ लाख रुपैयाँ खर्च गरेको कम्पनीको कुल मुनाफा ४२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा गत वर्षको ४१ करोड ११ लाख रुपैयाँबाट बढेर ४१ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय खर्चमा आएको गिरावटले नाफा वृद्धिमा थप सहयोग गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ८७ लाख रुपैयाँ रहेको खुद वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८ करोड २१ लाख रुपैयाँमा झरेको छ। यसबाट कम्पनीले ब्याज खर्चमा २ करोड ७६ लाख रुपैयाँ बचत गरेको देखिन्छ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, सञ्चित मुनाफा १ अर्ब १७ करोड ६० लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल इक्विटी ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ कायम भएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ रुपैयाँ ८० पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ९ रुपैयाँ ८० पैसा पुगेको छ। यसको वार्षिकीकरण गर्दा प्रतिशेयर आम्दानी ३९ रुपैयाँ १९ पैसा हुन्छ।

त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २१ पैसा रहेको छ। इक्विटीमा प्रतिफल ७.३० प्रतिशत र तरलता अनुपात १.८६ गुणा कायम भएको कम्पनीले जनाएको छ।


Read Previous

दैलेखमा पेट्रोलियम अन्वेषण पूरा भए पनि व्यावसायिक उत्खनन हुन सकेन, तस्बिर समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar