Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययनका लागि सुझाव माग


काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले ४३९ मेगावाटको अर्थजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न राय/सुझाव मागेको छ । कम्पनीले शुक्रबार सूचना सार्वजनिक गरी बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि प्रभावित क्षेत्रका स्थानीय सरोकारवालासँग ७ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव मागेको हो ।

प्रस्तावित आयोजना निर्माण गर्दा प्राकृतिक भौतिक, जैविक, सामाजिक, संस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी प्रभावित क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति एवं संस्थाबाट लिखित राय/सुझाव मागिएको छ ।

आयोजनाका निर्माण गर्दा कर्णाली प्रदेशको सुर्खेत जिल्लाको पंचपुरी नगरपालिका र चोकुने गाउँपालिका प्रत्यक्ष प्रभावित हुने अध्ययनले देखाएको छ । अध्ययन अनुसार सुदुरपश्चिम प्रदेशको अछाम जिल्लास्थित ढकारी र तुर्माखाँद गाउँपालिका पनि आयोजनाबाट प्रभावित हुनेछन् । । पंचपुरीको ५ र ७

नम्बर वडा, चोकुनेको ४, ५ र ६ नम्बर वडा, ढकारीको ५, ६ र ७ नम्बर वडा तथा तुर्मागाँदको ३, ४ र ५ नम्बर वडा प्रभावित हुने अध्ययनले देखाएको छ ।
कर्णाली नदीमा निर्माण प्रस्ताव गरिएको यो आयोजनाको बाँध ९० मिटर अग्लो हुनेछ । नदीमा करिब ५.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६ सय १६ दशमलव ९५ लाख घनमिटर क्षमताको जलाशय निर्माण गर्न प्रस्ताव गरिएको छ ।

आयोजनाको सुख्खा याममा पानीको डिजाइन बहाव ५३६ घनमिटर प्रति सेकेण्ड र बर्खामा ५५१.३३ घनमिटर प्रतिसेकेण्ड हुनेछ । आयोजनाको हेड ९९.१३ मिटरको हुनेछ । डिजाइन अनुसार आयोजना सम्पन्न हुँदा वार्षिक २३६९.८८ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ । आयोजनामा २०१७.२६, २०११.१५ र २०१७.३९ मिटरका ३ वटा मुख्य सुरुङ निर्माण हुनेछन् । १५१.८ मिटर लामो ३ वटा पेनस्टक पाइपहरू राखिनेछ ।

ढकारी-६ मा भूमिगत विद्युतगृह निर्माण प्रस्ताव गरिएको छ । विद्युतगृहमा ६ वटा उत्पादन युनिट रहने गरी डिजाइन कम्पनीले जनाएको छ । आयोजनाबाट विद्युत उत्पादन भई बाहिरिने पानीको निकासीका लागि २९६.९२ मिटर लामो ६ वटा टेलरेस सुरुङ तथा ४९६.२७ मिटरको खुल्ला निकास नहर निर्माण गरिनेछ । यो आयोजना विद्युत बढी खपत हुने साँझ र बिहानको माग व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो


Read Previous

विद्युत निर्यात परिमाण बढेसँगै उच्च माग १९ सय मेगावाट माथि

Read Next

८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमणमा आए,भारतीयको संख्या बढी

Leave a Reply

Your email address will not be published.