Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विश्वकाे ठूलो हरित हाइड्रोजन भण्डारण परियोजना बन्दै


काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वको ठूलो हरित हाइड्रोजन भण्डारण परियोजना निर्माण गर्ने भएको छ । एसेस डेल्टा, मिट्सुबिसी पावर अमेरिकाज र मग्नुम डेभलपमेन्टले अमेरिकाकाे उटाह राज्यमा ३०० गिगावाट घन्टा क्षमताको भूमिगत हाइड्रोजन भण्डारण परियोजना निर्माण गर्न लागेका हुन् ।

हाइड्रोजन भण्डार गर्न १५० गिगावाट घन्टा क्षमताका २ वटा भूमिगत भण्डारणगृह निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार यो भण्डारणगृह वरपर सञ्चालित ८४० मेगावाट क्षमताका हाइड्राेजन प्लान्टबाट उत्पादन भएको हरित हाइड्रोजन ग्यास भण्डारण गरिनेछ ।

यो हरित हाइड्रोजन भण्डारणगृह निर्माण गर्न अमेरिकी ऊर्जा विभाग (डिओई) बाट ४०५.४ मिलियन अमेरिकी डलर बराबरको ऋण लगानी सुनिश्चित भएको छ । यो भण्डारगृहमा इन्टर-माउन्टेन पावर एजेन्सीको आइपिपी नवीनिकृत परियोजनाले उत्पादन गरेको हरित हाइड्रोजन भण्डार गरिने समाचारमा जनाइएको छ । यो क्षेत्रमा ८४० मेगावाट क्षमताका हाइड्रोजन प्लान्ट सञ्चालनमा छन् ।

एसेस डेल्टाका अनुसार सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरी यो भण्डारणगृहमा ३० प्रतिशत हरित हाइड्रोजन तथा ७० प्रतिशत प्राकृतिक ग्यासको मिश्रण गरी भण्डार गरिनेछ । सन् २०४५ सम्ममा शतप्रतिशत हरित हाइड्रोजन मात्रै भण्डारण गर्ने लक्ष्य छ ।

भूमिगत भण्डारणगृह निर्माणका लागि (इन्जिनियरिङ, खरीद तथा निर्माण (इपिसी) मोडलमा ठेक्का सम्झौता भएको छ । यसरी भण्डार गरेर राखिएको हाइड्रोजन आवश्यक परेको समयमा विद्युत उत्पादनका लागि तथा इन्धनकोरूपमा उपयोगमा ल्याउन सकिने ठेकेदार कम्पनी डब्ल्युएसपी अमेरिकाले जनाएको छ ।

यो भण्डारणगृहमा भण्डारण गर्न हरेक दिन १ सय मेट्रिकटन हाइड्रोजन उत्पादनका लागि २२० मेगावाट क्षमताका इलेक्ट्रोलाइजर उपकरणमार्फत नवीकरणीय ऊर्जालाई हरित हाइड्रोजनमा रुपान्तरण गरिनेछ ।

हाइड्रोजन भण्डारणगृह निर्माणका लागि अहिले छनोट भएको स्थान सबै हिसाबले उपयुक्त भएको मग्नुम कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रेग बाउसाइले बताए । मग्नुमले यसअघि डोमल गुणस्तरको नुन तथा तरल इन्धन भण्डारका लागि निर्माण गरेका ५ वटा भण्डारणगृह सञ्चालनमा छन् ।

पेट्राेलियम इन्धन तथा काेइलामा आधारित थर्मल प्लान्टलाई नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्नुपर्ने भएको हुँदा हरित हाइड्रोजन उत्पादन तथा भण्डारणको क्षेत्रमा पनि लगानी हुन थालेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद


Read Previous

जलविद्युत रोयल्टीः २१ पालिकालाई करोडमाथि, ६१७ लाई शुन्य

Read Next

कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला हुने

Leave a Reply

Your email address will not be published.