Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

सेती नदीको ७० प्रतिशत निर्माण सकियो,९ महिनामा विद्युत उत्पादन


काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको ७० प्रतिशत निर्माण पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनील प्रवर्द्धन गरिरहेको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध क्षेत्रका संरचनाको निर्माण सकिन लागेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार बाँध र डिसेन्डर बेसिनको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

‘हाम्रो आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको छ । कोभिड-१९ महामारीको समयमा पनि कामको गति नरोकी आयोजना अगाडि बढाएकाले हामी यो अवस्थामा आइपुगेका छौं,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘अबको ९ महिनामा विद्युत उत्पादन सुरु गर्ने तालिका पछ्याउँदै काम गरिरहेका छौं ।’ उनले आगामी चैतसम्ममा आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउने लक्ष्य रहेको जानकारी दिए ।

आयोजनाको ६.२ किलोमिटर लामो लो–प्रेसर पेनस्टक पाइप बिछ्याउने काम ६० प्रतिशत बढी सम्पन्न भइसकेको पनि पोखरेलले बताए । विद्युतगृहमा पनि सिभिलतर्फको काम धमाधम भइरहेको छ । विद्युतगृहको २५ प्रतिशत निर्माण पूरा भइसकेको छ ।

विद्युतगृहको पानी निकास गरिने टेलरेस पाइप लाइन जडानको काम पनि निर्माणाधीन छ । आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत विद्युतगृहबाट ४ किलोमिटर दुरीको लाहाचोक सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झौता भएको छ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन निर्माणको प्रक्रिया पनि अगाडि बढाएको पोखरेलले जानकारी दिए ।

१३२ केभी ४ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जग्गा खरिद प्रक्रिया सकिएको छ । आयोजना सम्पन्न हुने अवधिसम्ममा प्रसारण लाइन पनि तयार भइसक्ने कम्पनीले जनाएको छ । प्रसारण लाइन निर्माणका लागि जेड इन्फ्रा कम्पनीसँग सम्झौता भई आयोजना स्थलमा परिचालन गरिएको छ ।

आयोजना निर्माण सम्पन्न हुँदा ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो लागत कोभिड–१९ महामारीभन्दा अगाडिको हो । कोभिड–१९ को प्रभाव आयोजनामा केही देखिए पनि लागत नबढ्ने पोखरेलले दाबी गरे । कूल लागतको ७० प्रतिशत (साढे ३ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ । ३० प्रतिशत (डेढ अर्ब रुपैयाँ ) स्वपुँजी लगानी छ ।

आयोजनामा १ हजार ४ सय जना प्रवर्द्धक छन् । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको १ वर्षपछिबाट नै प्रवद्र्धकलाई लाभांश वितरण गर्न सुरु गर्ने कम्पनीको लक्ष्य छ । यति धेरै प्रवर्द्धक रहेको आयोजना सम्पन्न भएको अर्को वर्षबाट लाभांश दिएर असल अभ्यासको थालनी गर्ने योजना कम्पनीको रहेको पोखरेलले बताए ।


Read Previous

फूलपाती भन्ज्याङदेखि नमोबुद्धसम्म

Read Next

सडक पुल निर्माण सम्पन्न हुनुअघि नै चर्किने समस्या बढ्दै, समाधान के ?

Leave a Reply

Your email address will not be published.