Nepal Purbadhar

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022

बिहिबार, अशोज १३, २०७९
Thursday, September 29, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

फूलपाती भन्ज्याङदेखि नमोबुद्धसम्म


आज मोहित सखारैदेखि हतारिएको छ । बिहानको नित्यकर्मपछि काभ्रेपालञ्चोकको फूलपाती भन्ज्याङ्देखि नमोबुद्धसम्म बुद्ध पदयात्रा गर्ने योजना छ । उज्यालो खस्ने वित्तिकै बद्री र जीवनलाई मोवाइल गर्यो र बानेश्वर चोक बोलायो । फूलपाती भन्ज्याङमा सुमो जीपले ड्रप गरेर नमोबुद्धतर्फ हुइकियो ।

जीवनवृत्तिमा मुलुकका विभिन्न भाग चाहार्दै, काठमाडौंमा बसोबास गर्ने मोहित वर्षको एक दुईपल्ट गाउँ नगइ छाड्दैन । गाउँतिर लाग्ने वित्तिकै मोहित त्यत्तिकै रतिन्छ । आज पनि फूलपाती भन्ज्याङतर्फ लाग्दा मोहित नामजस्तै मोहित भएको छ ।

स्थानीय सरकारले ठाउँ ठाउँमा ट्रेकिङ ट्र्याक बनाइदिएको छ । सडकका किनरमा बस्ने ढुङ्गा, मुढाहरु राख्ने काम अझै बाँकी छ । पर्यटन प्रवर्द्धन स–साना कुराले गर्छ, विकास पूर्वाधारको सौन्दर्यीकरणमा खासै खर्च लाग्दैन । तर स्थानीय सरकार यसमा चनाखो छ । उसलाई थाहा छ, यस्ता कामले पहिचान, सम्बन्ध र आम्दानी बढाउँछ । के गर्ने भनेर टोल भेला र विज्ञ बैठक पनि गरिरहेका छन् ।

फूलपाती भन्ज्याङमा उभिएर मोहित दुवै साथीलाई बताउँदै छ –‘थाहा छ साथी हो फूलपाती भन्ज्याङ नाम कसरी बस्न गयो ? नेपाल एकीकरणअघि यहा यस भेकका राजा बस्थे, दशैमा फूलपाती पर्सिने ठाउँ भएकोले यस ठाउँको नाम नै फूलपाती भन्ज्याङ बस्न गएको रे ।

औलाले कालापानी बजारतर्फ देखाउँदै भन्छ ‘उ त्यो चौर चाहि हात्तीसार । राजाको हात्ती बाध्ने ठाउ रे । कतिपयले त महाभारतको युद्धसँग पनि यस गाउलाई जोडेका छन् । त्यो हरियो, लामो पर्वत शृङ्खला चाँही महाभारत । महाभारतको समयमा दुर्योधनले द्रौपदीको चीर हरणमा फरिया तान्दा भगवान श्रीकृष्णले जति ताने पनि फरिया नसकिने गरी छाडेकाले त्यो हरियो फरियाको पहाड बनेको, आजसम्म हरियो छ । त्यो महाभारत । पुराणमा द्रौपदीको इज्जत बचायो, आज यस भेकका मानिसको जीवन बचाइरहेको छ ।’

बद्री र जीवन त्यति पत्याएजस्तो गर्र्दैनन् तर मोहितकै लहैलहैमा ट्रेकिङ आएकाले सिधै प्रतिक्रिया भने जनाई हाल्दैनन् । शहर बजारमा हुर्केका साथीहरुलाई यस्ता कुरा के थाहा ? फेसबुकले बताएको छैन, विद्यालयमा पढाएको पनि छैन । आमाबुबाले पनि बताएका छैनन् ।

मोहित आफ्नो थातथलो मिल्ने साथीहरुलाई बताउँदै देखाउन पाएकोमा मनमनै गदगदिएको छ । उसको भावभङ्गीबाट खुवै रमाएको देखिन्छ ।
साथीहरु नौ पनि बज्यो, अव हाम्रो यात्रा शुरु गर्नुपर्छ । धेरै ढिला गर्नु हुन्न ।

पिठ्यूमा ब्याकप्याक, कम्मरमा पातलो ज्याकेट र हातमा लौरोसाथ तीनजनाको यात्रा शुरु हुन्छ ।

मेहित पश्चिम फर्केर हौसिदै साथीहरुलाई बताउँछ –त्यो पाँचखाल हो, त्यो चाँहि तिनपिप्ले, हामी सानो छँदा त्यहाँसम्म हिडेर काठमाडौंका लागि बाटो समाउथ्यौं । यहीबाट उ त्यो आधाबाट, त्यो झिकुखोला हुँदै बस समाउथ्यौं । झिकुखोला बाढी आउदा तर्न सकिदैनथ्यो । अहिले त यहीबाट मोटर चढेर जान पाइन्छ, झिकुखोलामा पुल पनि छ ।

भन्ज्याङको विशेषता नै शितल हुनु हो, सरर्रर हावा बहिरहेको छ, घामका कलिला किरणसँग सिरेटोको झोक्काले सङ्घर्ष गरिरहेको छ, त्यसको मारमा भने हाम्रो नाक, मुख, ओठ परेका छन् ।

‘थाहा छ साथी हो आजभोलि बीपी मार्ग भनिने त्यो बाटो सो¥ह सालमा नै बिपीले आरटिओको नाममा शुभारम्भ गरेथे । राजा महेन्द्रले निर्माण काम बन्द गरेर यहाका जनतामाथि अन्याय गरे । पछि उनै बिपीका भाइ गिरिजा प्रधानमन्त्री भएको बेला बाटो खनियो । यो बाटोले यस क्षेत्रका जीवनशैली नै बदलेको छ । शिक्षा, उत्पादन र स्वास्थ्य उपचारमा कता हो कता फड्को मारेको छ ।

भन्ज्याङको विवशेषता उसमुनि बस्ती हुनु हो, खेतीका फाँट हुनु हो । अर्को विशेषता भन्ज्याङमा आइपुग्दा त्यहाँको क्षितिज भागिसक्नु हो, परको क्षितिज हेर्नुपर्छ ।

थोरै मुनि दक्षिणतर्फ कान्पुरको बस्ती, हरिया बारीका पाटा, कुनामा कालापानी बजार र खर्क डाँडा र थाप्लोमा कालिकाको मन्दिर, जगरका अग्ला रुखहरु, एकातिर पानी ढलोमा पातल (जङ्गल) र अर्कोतर्फ रोशीखोला ।

उत्तरतर्फ ओरालोमा लामागाउँ, सस्र्यूखर्क, अलि तल सुनकोशी तर पहाडले छेकिदिएको छ । अग्लाअग्ला रुखले छेकिदिएका छन् । प्रकृतिले एकैचोटी सबैकुरा कहाँ देखाउछ र ? अलिअलि गरी रहस्य खोल्छ । पूर्वीतर्फ डाँडैडाँडा मोटर बाटो–कोटकी काली मन्दिर, तिमाल गाउँ, पोखरी नारायण स्थानको उच्च समस्थलीयुक्त जङ्गल, त्यहाँबाट दम्स्याइलो बाटो कुरुवास, लोमसाल हुँदै मङ्गलटारतिर बिपी मार्गमा जोडिन्छ । त्यसपछि अर्कै चहलपहल शुरु हुन्छ ।

यो चार दशकमा गाउँले त साँच्चै काचुली फेरेको छ ।

पिठ्युमा ढाकर बोकेर तीनघण्टा ओरालो रोशीमा घट्ट जाने बटुवा पनि भेटिन छाडेछन्, विजुली पुगेपछि गाउँ गाउँमा आधुनिक मिलबाट मकै, गौ, कोदो, फापर पिस्ने मिलहरु छन् । केही घरमा त थोथोरै पिस्ने कामका लागि ग्रिन्डर पनि प्रयोगमा छ । घट्टलाई मिलले, ढिकी–जाँतोलाई ग्रिन्डरले विस्थापन गरेछ । डोकोमा भारी बोक्ने महिलाहरु करेसाबारी र घरायसी काममा रमाउन पुगेका छन्, भारी बोक्ने काम उनीहरुका पुरुषहरुले ट्याक्टर चलाएर पुरा गर्छन् । हलोलाई पनि हाते हलो, ट्याक्टरले छुट्टि दिएको छ । गाइबस्तु बाधिने गोठ–छिडी पल्सर–बजाज बाइकहरुले ओगटेको छ ।

कोट तिमाल, नारायणस्थान लगायतका उच्च स्थानका करेसाबारीमा बोधिचित्त खेतीले तिमाल शृङ्खलाको मुहार फेर्दैछ । बोधिचित्त फुल्ने वित्तिकै प्रतिबोट दशलाख, बिस लाख रुपैयाँमा ठेक्का लाग्न थालेछ । हामी सानो हुँदा यसको त्यति महत्व थिएन । अझै महत्व पहिचान हुन बाँकी कति चिज होलान यो प्रकृतिमा ?

घरमा आमा दिदीहरुलाई ढुङ्ग्रीले आगो फुकेर खाना बनाउने बाध्यता हटेको छ, दाउरा बल्ने धुँवादार अँगेनाहरु ग्यास चुलो र विजुली चुल्होमा बदलिएका छन् । कहीकही त इन्डक्सन पनि देख्न पाइन्छ । चार दशकअघि आमाहरु आगो र धुँवाका कारण क्षयरोगले पीडित हुन्थे, उपचार गर्ने काम पनि बेहोरेका एकजना कम्पाउण्डरको हातमा । अहिले त गाउँ गाउँमै स्वास्थ्य केन्द्र । फुर्सदमा महिलाहरु आमा समूह, सहकारी, सीप विकासमा भेला हुन थालेका छन् ।

महिलाहरुले घास पधेँरामा गफ गर्ने दिन पनि गएछन्, महाभारत, रामायण, घर घरका कहानी जस्ता टेलिशृङ्खलामा रमाउन थालेका छन् । पोल्टामा रहेको स्मार्ट फोनले वरपर सवैको जानकारी र हासीमजाकको सञ्जाल फिजिएको छ । जमाना कति फेरिएछ कति । स्वयम् मोहित पनि दङ्ग परेको छ । जीवन र

बद्रीले त गाउँको दुख सुनेका मात्र थिए ।

मोहित साथीलाई बाल्यकालको कुरा बताउँछ । ‘बाल्यकाल त सङ्घर्ष थियो साथी हो । भोक, दुख र जङ्गलसंग सङ्घर्ष ।’

‘तिमीहरुलाई के थाहा । पातलमा दाउरा र डाले घासका लागि जाँदा कतिपटक त किरो (चितुवा) आएर हामीहरु चिहिल्लएर भित्तातिर लागेथ्यौं । लोखर्के, जुरेली, चराहरु धेरै कराए भने पनि पक्कै बाघ, चितुवा, मलसाप्रो, दुम्सी आएको जनाउ हो भनेर डराउँथ्यौ । फेदीपानी काटेपछि पाताल सकिन्थ्यो, घास दाउरा विसाएर आनन्दले सास फेथ्र्यौ र सोच्थ्यौं आज त बचियो ।’

बद्रीले त मोहितको कति कुरा पत्याएन । जीवनले भने पहिला पनि यस्ता कुरा सुनेको रहेछ । केही पत्यायो ।

बाल्यकालको दुख, सङ्घर्षको कथा बताउदा पनि मोहित निकै रमाएको छ । विगत पल्टाउदा मानिसहरु त्यत्तिकै रमाउछन्, दुखको कुरा होस वा सुखको ।
फुलपाती भन्ज्याङ्बाट ढ्याङ्ग्रे ओडारहुँदै ट्रेकिङ टिम कालापानी बजार आइपुग्छ । त्यो ढ्याङ्ग्रे ओडार बाघ, वनमान्छेको आश्रयस्थल हो भन्ने पनि भनाइ छ । ‘हेर त बद्री हामी यही खर्क डाँडामा भोगेटोको भकुण्डो र डण्डीवियो खौल्थ्यौं ।

सरले एकै कोठामा तीन चारवटा कक्षा पढाउनुहुन्थ्यो । सर विदा बस्दा टहलुवा काकाले नै जे जान्थे त्यही पढाउँथे, विचरा टहलुवाले के पढाउथे, उनले जानको त ‘कः कं, कौ, को, के, के, कू, कु, की, कि,का,क र एक देखि दश सम्मको दुनोट थियो । बेलुका श्रीमान गम्भीर ..गाइसकेपछि छुट्टिको घण्टी लाग्दा कति खुसी हुन्थ्यौं । घर पुग्दा संसार नै जिते जस्तो लाग्थ्यो । मकैभटमास खल्तीमा राखेर डाले घास र दाउरा लिन पातलतिर झथ्र्यौ । किरो आउला कि भनेर खुवै डराउथ्यौं ।’

बद्रीलाई कुरा सुन्ने त्यति इच्छा छैन, शहर बजारमा हुर्किएको मानिस साहसिक खेल, चलचित्र हेर्न, रानु र प्मे बाजपेइका उपनयास पढ्न, रमाइलो गर्नमा रत्तिन्छ । जीवन गाउँका हरेक कुरा चाख दिएर सुन्न चाहन्छ । घरीघरी खल्तीबाट मोवाइल झिकेर पहाड, पातल, मन्दिर र अजङ्गका रुखहरु कैद गर्छ । रमाउने पनि आआफ्नो शैली हुने । मानिस उही, मन केही फरक । त्यसैले मानिसलाई भिन्न बनाएको न हो ।

फूलपाती भन्ज्याङ–नमोबुद्धको यात्रा निकै मनमोहक र साहसिक छ । प्रकृतिका जीवन्त कुरा सिक्न सकिने, जनजीवन र जैविक विविधताको स्वाद लिन पाइने । स्थानीय सरकारले ठाउँ ठाउँमा ट्रेकिङ ट्र्याक बनाइदिएको छ । सडकका किनरमा बस्ने ढुङ्गा, मुढाहरु राख्ने काम अझै बाँकी छ । पर्यटन प्रवद्र्धन ससाना कुराले गर्छ, विकास पूर्वाधारको सौन्दर्यीकरणमा खासै खर्च लाग्दैन । तर स्थानीय सरकार यसमा चनाखो छ । उसलाई थाहा छ, यस्ता कामले पहिचान, सम्बन्ध र आम्दानी बढाउँछ । के गर्ने भनेर टोल भेला र विज्ञ बैठक पनि गरिरहेका छन् ।

रमाउन त बद्री पनि रमायो होला । फरक कुरा जान्न कस्लाई मन पर्दैन ? थामपरी, लास्कोटतिरबाट मधुरो श्वरमा ‘चरिला कमाइ–धाङलामाइ’ को तामाङसेलो सुनिन्छ । यसको मतलव मेलापातका साथ रमाइलो गर्ने काम विहानैदेखि शुर भएछ । वारि र पारी गीतकै भाकामा प्रेम हुन्छ, सुखदुख र सन्देश आदान प्रदान हुन्छ । शाकिरा, एरिएना ग्राण्डे, विल्ली इलिस र ब्रुनो मार्स भन्दा हाम्रा च्याङ्वा मैचाङ कहाँ कम छन् र ? प्रतिभा देखाउन मात्र नपाएका ।

डाँडा थुम्कामा माने र द्यौराली छन्, काकलिङ्हरु भने हराउन थालेछन् । घरघरका भित्तामा बुद्धसंस्कृतिका कथा बताउने थाङ्काचित्र टाँगिएका छन् । लाग्छ यो काभ्रेपलाञ्चोकको जिउदो पुस्तकालय । यो प्रकृतिले इतिहास, भूगोल जीवनशैली, यिनीहरसँग गाँसिएको पारिस्थितिक प्रणालीको ज्ञान दिइरहेको छ ।

कोट तिमाल, नारायणस्थान लगायतका उच्च स्थानका करेसाबारीमा बोधिचित्त खेतीले तिमाल शृङ्खलाको मुहार फेर्दैछ । बोधिचित्त फुल्ने वित्तिकै प्रतिबोट दशलाख, बिस लाख रुपैयाँमा ठेक्का लाग्न थालेछ । हामी सानो हुँदा यसको त्यति महत्व थिएन । अझै महत्व पहिचान हुन बाँकी कति चिज होलान यो प्रकृतिमा ?

कालिका मन्दिरको सत्तलमा चिसो हावासंगै रहेर मोहित बद्री र जीवनलाई कालिमहिमा, भक्त जोशीले मन्दिर स्थापना गरेको कथा, मन्दिर जिर्णोद्धारको कथा सुनाउँछ । सत्तल बाहिरबाट सेतै लमतन्न रोशीखोला देखाउँछ । रोशी खोलाका किनारै किनार दुम्जा कुशेश्वर सिन्धुली जाँदै गरेका मोटर देखाउँछ । मोटरका हर्नका आवाज पनि टाढैबाट सुनिएका छन् । मोटरका हर्नले पातलमा किरोहरु हराउन लागे रे ।

‘थाहा छ साथी हो आजभोलि बीपी मार्ग भनिने त्यो बाटो सो¥ह सालमा नै बिपीले आरटिओको नाममा शुभारम्भ गरेथे । राजा महेन्द्रले निर्माण काम बन्द गरेर यहाका जनतामाथि अन्याय गरे । पछि उनै बिपीका भाइ गिरिजा प्रधानमन्त्री भएको बेला बाटो खनियो । यो बाटोले यस क्षेत्रका जीवनशैली नै बदलेको छ । शिक्षा, उत्पादन र स्वास्थ्य उपचारमा कता हो कता फड्को मारेको छ । सिन्धुली, काभ्रेपलाञ्चोक, रामेछाप र केही हदमा ओखलढङ्गा–खोटाङ सम्मको आर्थिक विकासको मेरुदण्ड बनेको छ । यो नबनेको भए सिन्धुली रामेछापको जुनारले यति ठूलो ख्याती पाउदैनथ्यो ।’

यत्तिकैमा बद्री प्रतिक्रिया दिन्छ–‘तर गाउँ गाउँबाट वन र बारी नास गर्दै डोजरबाट खनिएका बाटो पनि हेर न मोहित, यसले कति विनास गरेको छ ? पानीका मूल सुकेको छ, पहिरो खसेको छ ।’

‘हो बद्री विकास व्यवस्थित भएन भने विनास ल्याउँछ । डोजर संस्कृति यहाँ ल्याउन हामी पनि दोषी छौ । विकास भनेको प्रकृतिलाई चिरफार गर्ने जस्तो मात्र भयो, बनलाई भुत्ल्याउने जस्तो मात्र भयो । अवको स्थानीय सरकारको नेतृत्वले विकास व्यवस्थित गर्ने काम गर्ला । हामी यही जन्मे हुर्केकाले सल्लाह पनि दिनुपर्छ, खवरदारी पनि गर्नुपर्छ ।’

‘तिमीहरु त विकास बहस पो गर्न थाल्यौ । टे«किङको रमाइलो गरौं न । यो बहस त भरे काठमाडौमा गरे हुन्न ?’ जीवन अनुरोध गर्छ ।

मोहित, बद्री र जीवन गफिदै मुलबाटो हुँदै तल्लो कान्पुरको चोकमा आइपुग्छन् । मोहित फेरि बताउन थाल्छ –‘बुझ्यौ साथी यो कथाकार गुरुप्रसाद मैनालीको गाउँ जाने चोक हो, जम्मा पाँच मिनेट लाग्छ यहाबाट । उनले लेखेको छिमेकी कथा त्यही तल्लो गाउको धनजिते र गुमानेको कथा हो । नासो चाहि पल्लो गाउको देवीरमण र सुभद्राको कथा ।’

एउटै कथा लेखेर ख्याती कमाएका गुरुप्रसाद मैनालीको नाम पढ्नेहरु सबैले सुुनेका छन् । कलेजमा बद्री, जीवनले पनि नासो कथा सङ्ग्रह पढेका थिए । चाखले गफ अघि बढ्यो ।

गुरुप्रसाद मैनालीका कथामा गाउका पात्रहरु, वास्तविक घटना हुन्छन् । कथामा गाउँको रिफ्लेक्सन हुन्छ । त्यसैले ती अलग धारका छन् । गुरुप्रसाद त कथा विधाका महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् । कवितामा देवकोटा जस्तै कथामा गुरुप्रसाद छन् ।

यत्तिकैमा बद्री प्रश्न गर्छ –‘यहाका मानिसले किन गुरुप्रसादको प्रतिमा, पार्क नबनाएको होला ? यो ठाउलाई त उनले नै चिनाएका हुन् नि ।’

‘होइन बद्री नमोबुद्ध नगरपालिकाले भकुण्डेवेसीमा प्रतिमा सहितको पार्क बनाउँदै छ । नक्सा योजना बनिसक्यो । धुलिखेल नगरपालिकाले पनि देवीस्थान जाने सिढीमा मैनालीको प्रतिमा राख्ने योजना बनाएको छ ।’

‘परालको आगोको त सिनेमा नै बनेको छ नि’ । मोहितको कुरा नटुङ्गिदै बद्री उछिन्छ ‘थाहा छ थाहा छ, मैले त दुईपटक हेरेको छु, गौथलीको भूमिका कति गाउले खालको छ, कत्ति पनि बनावटी छैन, चामेको डायलगमा बनावटीपन छैन’ ।

जीवनलाई पनि निकै घत लागेछ । ‘सानो छँदा परालको आगो, मुनामदन र अनि द्यौराली रुन्छ जस्ता कथामा आधारित नाटक, सिनेमा पटकपटक हेरियो, आजभोलि पनि फिल्म त हेरिन्छ, शरिरलाई मात्र रमाइलो, मन र मुुटुमा न कथाले छुन्छ न पात्रले आसन नै जमाउँछन् ।’

‘कथा नाटकले मन छुनुपर्छृ । कथा, चलचित्रले शरिरलाई स्वाद दिएर हुँदैन, मस्तिस्क र मन दुवैलाई प्रभाव छाड्नु पर्छ । आजभोलि साहित्य कला पनि मनबाट टाढिएर बजार पुग्दैछन्’ । मोहितले निस्कर्ष निकाल्यो ।

‘कथा राम्रो बन्न त्यसले जीवन बोक्नुपर्छ, भोगाइका अनुभुति टिप्नुपर्छ । कल्पनाले लेख्नुहुन्न, गाउबस्तीबाट लेख्नुपर्छ । कल्पना त व्यग्र कल्पनाको साइफाइ कथाका लागि पो ठीक हुन्छ ।’ मोहितको बहस सकिएको छैन ।

‘आफ्नो जन्मथलोको कथा, माटो, रुख विरुवा, सबैले छुन्छ । गुरुप्रसादलाई जस्तै मलाई पनि गाउले नै पोल्छ । कति सुन्दर छ यो ठाउँ’ ।

जीवनले प्रतिक्रिया जनाइ हाल्यो ‘किन काठमार्डौ बस्न थालेको त उसोभए ? यही प्रकृतिमा बस, हामीलाई कहिले काही ट्रीटका लागि बोलाउ, भै गो नि’ ।

‘कस्तो अव्यावहारिक कुरा गरेको तिमील जीवन ? त्यतिखेर गाउमा ६ कक्षासम्म मात्र पढाइन्थ्यो । अहिले जस्तो गाउँमा नै स्नातकसम्म पढ्न पाइने र आमाले पकाएको खाएर पल्सरमा हुइकिदै काठमाडौं, धुलिखेल मास्टर पढ्न पाउथेँ भने किन गाउ छाड्थेँ ?’

गर्मागर्मी गफ र हसिमजाक गर्दै खरदारपाटीमा पुगेपछि साथीहरु कतिखेर नमोबुद्ध पुगिएला भनी हिसाव गर्न थाले । खरदारपाटी निकै पूरानो पाटी, यही ठाउँबाट पूर्वतिर पौडेल बस्ती विस्तार भएको कथा छ । चिया खान त मन थियो, तर त्यत्तिकै फटाफट ओरालो झरे ।

काशीखण्डबेसीमा एकएक दाना अम्वा किनेर टोक्दै उकालो यात्रा शुरु भयो । निकै भोकाएकाले नमोबुद्ध नपुगी खाना नखाने बाचा भभरकोटमा तोडियो । एकएक ग्लास भैसीको दूध, एक एक ओटा फापरको रोटी खाएर पुन उकालो शुरु भो ।

अव नमोबुद्ध सम्म उकालो मात्र हिड्नुु छ । वाटोहरु पनि साँघुरा छन् । गफ अलि मलिनो हुँदैछ ।

गाउँका घरहर पनि चिटिक्क परेका, पहिला एकाध झिङ्गटी र सबैजसो खरले छाएका हुन्थे । मानिसको हैसियत घरैको छानाबाट नै खुल्थ्यो । सबै घरहर आधुनिक, चार पाँच घरबीच सार्वजनिक धारो, कसै कसैको त घरआगन मै कलधारो, सबैको घरमा शौचालय, घरमा फलैँचाको सट्टा तीनचार ओटा कुर्सी, सानो करेसावारी, केही घरको बीचमा किराना पसल, दूध सङ्कलन केन्द्र, घँगारु पाकेर राताम्मे बाटो ।

एकाएक मोेहित कराउँछ ‘साथी हो घँगारु खाऔँ’ । उ फेरि बाल्यकालमा फर्कियो । गोठालो जाँदा चुथ्रो, मछाइनो, जामुन, फँडिल, ऐसेलु, घँगारु, कटुस, अमला, पानी अमला खान उ निकै मन पराउँथ्यो ।

यो जङ्गली के हो के खाँदा विमारी त परिन्न ? बद्री मनमनै रगमगिन्छ । ‘जे पर्ला पर्ला’ । साहसले केही दाना खायो । ‘आहा मीठो छ, जीवन तँ पनि खा न’ । ‘खाओ बाँदर हो खाओ, म भने बादरको फोटो खिच्छु’ ।

घँगारुको ठूलो झ्याम्टोको दुईतिर घँगारु टिप्दै खाँदै गरेका मोहित र बद्रीबीचमा रहेर जीवनले सेल्फी हान्यो र बाँदरहरु वनबाट बाटोमा शीर्षकामा फेसबुक अपलोड पनि ग¥यो । मायाले जे भने पनि राम्रो, साथीले भनेको के नराम्रो हुनछ र ?

उकालो लगभग सकियो । नमोबुद्ध नजिक पहाडको थाप्लोमा पृष्ठभूमिमा फूलपाती भन्ज्याङलाई राखेर फेरि फोटो खिचे । छोडेको बाटो देखाएर जीवन डराउँछ पनि ‘हेर कति लामो यात्रा तय गरेछौं’ । ‘होइन जीवन सकिएको यात्रा हेर्ने होइन, बाँकी बाटो हेरेर शिखर चढ्नुपर्छ । यो यात्राको नियम हो, यसैले शक्ति दिन्छ’ । मोहितले सक्न नपाउँदै बद्री थप्छ ‘यस्ता पहाडसंग लड्दै, चिथरिदै आएको रहेछ र पो पहाडे बाहुनलाई पढाइ, जागीर सबैतिर सफलता मिलेको’ ।

‘होइन बद्री तिमीले पनि सङ्घर्ष गरेका छौं । सङ्घर्ष रहरले होइन, आवश्यकतामा गरिन्छ । सङ्घर्ष नगर्ने प्राणी वनस्पति को छ र ? हामी त मानिस भयौं । शहरको सङ्घर्ष गाउँको भन्दा निकै जटिल र कुटिल हुन्छ । शहरमा बसेर पनि तिमीहरुले आजको पदयात्रामा गरेको सङ्घर्ष कम साहसपूर्ण छ र ?’

गफिदै नमोबुद्धमा पुगेका जीवन, मोहित, बद्री पालैपालो बौद्ध भिक्षु, आनीसंग फोटो खिच्न थाले । र, ओँम् मणि पद्मे लेखिएका बुद्ध साधना पढ्दै घुम्न थाले । उनीहरुको भोक र पसिना कता हो कता भागेछ ।

नमोबुद्धको शिखरबाट रोशी, पुण्यमाता, महाभारत, तिमालको हरियाली, शङ्खु र काशीखण्डवेसी अनि दाप्चाको समथर खेती र गौरीशङ्कर शृङ्खलासंग चुमेको क्षितिज मोवाइलमा कैद गर्दै प्रतीक्षामा रहेको टाटा सुमोसाथ शङ्खु हुँदै तीनैजना बनेपा हुइकिए ।

मोहित मनमनै प्रशन्न छ, आफ्नो जन्मभूमि, बाल्यकालमा खेले दौडेको गाउँमा मिल्ने साथीलाई यात्रा गराउन पाएकोमा । अरु प्रशन्न छन, गाउको विकास निर्माण र बदलिएको जीवनशैलीको नयाँ स्वादबाट ।

‘हो प्रकृतिले धेरै दिएको छ मोहित तिम्रो जन्म गाउँलाई ।’ मौनता तोडदै जीवनले भन्न खोजेको कुरा पूरा हुन नदिई मोहित भन्छ ‘हो नि यति स्वच्छ हावापानी, स्वच्छ खोला–डाँडा, मिहनेती मानिस । पालिका र समुदाय मिलेर वन, जलाधार, पहाड बचाउने काम अझै गर्न बाँकी छ । रोशी र कोशी काभ्रेपलाञ्चोकको जीवन हो, तिमाल र महाभारत माथ हो ।

यसले थुप्रै दिइरहेको छ, बचाएर राखे अर धेरै दिन्छ । तर जन्मभूमि, प्रकृतिबाट लिइमात्र रह्यौ भने चाँही प्रकृतिले रियाक्सन गर्छ । मानिसले लिने मात्र होइन, पु¥याएर लिन जान्नुपर्छ ।    -(@mainaligopi)


Read Previous

सार्वजनिक खरिद नियमावलीको बाह्राै संशोधन सकारात्मक: निर्माण व्यवसायी

Read Next

सेती नदीको ७० प्रतिशत निर्माण सकियो,९ महिनामा विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published.